बहिराको हकहित र अधिकार स‌ंरक्षणका लागि ऐन कार्यान्वयनको माग

भक्तपुर । प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताएका छन् ।

भक्तपुर बहिरा सङ्घको आइतबार सम्पन्न ११औँ अधिवेशन तथा २२औँ वार्षिक साधारणसभामा बोल्दै उनले आफूले बहिरा व्यक्तिको पक्षमा सरकारले बनाएको कानूनलाई कार्यान्वयन गराउन प्रतिनधिसभामा आवाज उठाइरहेको बताए ।

सञ्चारबिहीन रहेका बहिरा व्यक्तिको हितका लागि सरकारले दोभासेको व्यवस्था गर्नुपर्ने र उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उनले जोड दिएका छन् । सरकारले कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले आमनागरिक र बहिरा व्यक्तिकाबीच प्रत्यक्ष संवादको माध्यम दोभासे भएकाले सरकारले बहिरा व्यक्तिको सङ्ख्याका आधारमा हरेक स्थानीय तहमा दोभासेको व्यवस्था गर्न माग गरे । उहाँले बहिरा व्यक्तिको राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिँदै सबै वर्ग र समुदायको अधिकार व्यवहारिक रुपमा स्थापित हुनुपर्ने अौल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शखाका अध्यक्ष पुष्करराज बुढाथोकीले राज्यको मूलप्रवाहबाट टाढा रहेका उनीहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने बताए । भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले सरकारले बहिरा व्यक्तिको लागि वृत्तचित्र रिले सर्भिसको व्यवस्था गर्न माग गर्दै राज्यका तिनै तहमा बहिरा व्यक्तिको सम्मानजनक सहभागिता हुनुपर्ने बताए ।

विभिन्न दश प्रकारका अपाङ्गतामध्ये बहिरा व्यक्ति सवेदनशील भएको भन्दै उनले हरेक स्थानीय तह र उद्योगमा कानूनमा व्यवस्था भएअनुसार अपाङ्ग व्यक्तिलाई रोजगारी प्रदान गर्न सबै तहसँग माग गरे । सङ्घले बहिरा व्यक्ति तथा अन्य स्रोतबाट संकलन भएको रकमबाट भक्तपुर नगरपालिका– १० मा दुई आना दुई पैसा जग्गा खरीद गरेको र उक्त जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भएको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!