युभेन्टसमा रोनाल्डोको डेब्यु खेल, गोल गरे तर मान्यता पाएन

काठमाडौं, भदौ ३ । पोर्जुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालीको क्लब युभेन्टसको पहिलो खेलमा जितसहित यात्रा सुरु गरेका छन् । रियल मड्रिडबाट गएको जुलाईमा ११२ मिलियन युरोमा युभेन्टस आवद्ध भएका रोनाल्डोले शनिबार राति भएको खेलमा इटालियन सिरी ए फुटबलमा डेब्यु गरे ।

पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसले किएभोलाई ३-२ ले हरायो । इन्जुरी समयको गोलबाट युभेन्टसले नाटकीय जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको हो । तेस्रो मिनेटमा नै सामी खिदिराले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर ३८ औँ मिनेटमा मारिउस्ज स्टेपिन्स्कीले किएभोका लागि बराबरी गोल फर्काए । ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा इमानुएल जाकिरीले गोल गर्दै किएभोलाई अग्रता दिलाए ।

किएभोका मातिया बानीले ७५ औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा २-२ को बराबरी भयो । इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

९ वर्षको रियल मड्रिड बसाईपछि युभेन्टस पाएका पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले सिरी ए मा डेब्यु गरेको खेलमा गोल गरे । तर उनको गोलले मान्यता पाएन । इन्जुरी समयमा फेडेरिकोले गोल गर्नु केही अघि मात्रै रोनाल्डोले मारिओ मान्जुकीको प्रहारमा गोल गरेका थिए । तर रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरको सहायतामा रिभ्यु गरे र रोनाल्डोको गोललाई मान्यता दिएनन् । रेफ्री फब्रिजिओ पास्क्वाले रोनाल्डोको गोललाई मान्यता नदिएका हुन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!