जनतालाई तरकारी बेच्दा पनि कर, मुख्यमन्त्रीका लागि २ करोडको गाडी

बिराटनगर, सर्वसाधारणलाई करको मारमा पारेको भन्दै देशैभरी बिरोध भइरहेको बेला सरकारमा बसेकाहरु भने बिलासी गाडी किन्न थालेका छन् ।

१ नं. प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुका लागि करोडौं मूल्यका गाडी किन्ने भएको हो ।

गाडी किन्न मात्रै प्रदेश नं. १ को सरकारले ३९ करोड ९७ लाख ९६ हजार रकम विनियोजन गरेको छ ।

गत वर्ष ६५ लाख रुपैयाँसम्मको सवारी साधन किन्न बोलपत्र आव्हान गरेपनि टेण्डर नपर्दा गाडी किन्न नसकेको प्रदेश सरकारले अहिले भने मुख्यमन्त्रीका लागि मात्रै २ करोड रुपैयाँ छुट्टयाएको छ ।

मुख्यमन्त्रीका लागि २ करोडको सवारी साधनसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ५ करोड ८४ लाख राखिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लागि ३ करेड ५१ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि ८५ लाख ५८ हजार, सामाजिक विकास मन्त्रालयका लागि १ करोड ९८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यो वर्ष प्रदेश सचिवालयका लागि २ करोड ७५ लाख २५ हजार रुपैयाँ सवारी सधान खरिद गर्न रकम विनियोजन गरिएको छ। मुख्यन्याधीकरणको कार्यालयका लागि ७३ लाख १० हजार रुपैयाँ सवारी साधन खरिदमा खर्च हुने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ करोड २० लाख रुपैयाँ राखेको छ।

प्रदेश सरकारका मन्त्रीहरुका लागि गाडीमा ठूलो रकम विनियोजन गरिनु र त्यसको असुलीका लागि आम जनतासँग साना साना व्यापारमा समेत कर लिने कुरा प्रदेश नम्बर १ मात्र सीमित छैन । अन्य प्रदेश र स्थानीय तहले समेत गाडी खरीदलाई प्राथमिकतामा राखेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्