कांग्रेसका २ सय युवा नेकपा प्रवेश, पार्टी कार्यालयमा स्वागत गर्दै अध्यक्षद्वय

काठमाडौं, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाल सामाजिक न्यायसहित आर्थिक समृद्धितिर अघि बढिको बताएका छन् ।

बिहीबार नेकपाकाे मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाही जनता र राष्ट्रको पक्षमा हुनु पर्नेमा जोड दिए ।

प्रचण्डले नेकपालाई टुक्र्याउने र कमजोर पार्ने सपना धेरैले देखेको र कुनै न कुनै रुपमा वितन्डा मच्याइरहेको बताए । पार्टी र सरकारका विरुद्धमा सबैतिरबाट घेराबन्दी भएपनि आफ्नो पार्टीलाई जनताको साथ र भरोसाा भएको दावी गरे ।

पार्टी र सरकारविरुद्ध भएका षड्यन्त्र र घेराबन्दी आफुहरुले राम्रोसँग चिनेको बताउँदै उनले भने, ‘यसको गतिलो जवाफ युवाहरुको नेकपा प्रवेश हो । अब देश नेकपाले नै बनाउँछ भनेर पार्टी प्रवेश गरेर नेपाल, नेपाली र विश्वसामु नै उदाहरण प्रस्तुत गर्नुभएको छ ।’

उनले विभिन्न खालका चुनौती आएपनि तिनको सामाना गर्दै पार्टीलाई एकतावद्ध, सुदृढ र सरकालाई मजबुत पार्ने बताए । उनले भने, ‘ चुनौंती छन्, पार्टी र सरकारविरुद्ध घेराबन्दी छ । यो अवस्थामा पार्टीलाई अझ सुदृढ र सरकारलाई सझै मजबुत पार्न जरुरी छ ।’

पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुको पार्टी प्रवेशले पार्टी अझै गतिशील भएको बताए । उनले पार्टी अझ बलियो र सशक्त भएको बताए ।

प्रधानम्रन्त्री ओलीले युवाहरुले नेकपालाई विश्वास गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको यो विश्वासलाई तलमाथि हुन नदिने बताए । उनले भने, ‘उहाँहलाई केही गर्न सकिन्छ भन्ने विश्वास छ । पार्टी र नेतृत्वप्रति विश्वास छ । हामी उक्त विश्वासलाई तलमाथि गर्न दिने छैनौं ।’

कार्यक्रममा काठमाडौं र ओखलढुंगाबाट नेपाली कांग्रेस परित्याग गरेर २ सयभन्दा बढी युवा नेकपामा प्रवेश गरेका थियो । पार्टी प्रवेश गरेका युवालाई अध्यक्षद्वयले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!