चलचित्र निर्देशक यादवको निधन

राजविराज, साउन ३० । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए ।

उनी मधुमेह र रक्तचापको रोगी थिए । पछिल्लो समय उनी ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए । यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका थिए ।

उनले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गरेका छन्। उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका छन् । “यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!