उपसचिवमाथि अाक्रमण, मन्त्रालय तोडफोड !

काठमाडौं, साउन २९ । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

आफूले भनेको ठाउमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्र्सी उचालेर हान्न खोजियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउँसो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उनले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् ।

ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला जाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!