कट्टर हिन्दूवादी पिताका वामपन्थी छोरा सोमनाथ चटर्जीको निधन

१० पटक भारतीय सांसद र एकपटक लोकसभा अध्यक्ष

काेलकाता, साउन २८ । भारतीय संसद लोकसभाका पूर्व अध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ। ८९ वर्षीय चटर्जी केही महिना यता अस्वस्थ्य थिए। गत जुलाईमा ब्रेन हेमोरेज भएपछि उनको उपचार चलिराखेको थियो। चिकित्सकहरूका अनुसार सोमबार बिहान डाइलिसिस गर्ने क्रममा उनलाई हृदयघात भएको थियो।

चटर्जी १० पटक भारतीय संसदका लागि चुनिए र एक पटक सभामुख रहेका थिए।

जुलाई १९२९ मा असमको एउटा दक्षिणपन्थी पृष्ठभूमिको परिवारमा जन्मिएका सोमनाथ चटर्जीले भारतको कलकत्ता विश्वविद्यालय र ब्रिटेनको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनका पिता निर्मल चन्द्र चटर्जी अखिल भारतीय हिन्दू महासभाका अध्यक्ष थिए।   कट्टर हिन्दू पारिवारिक पृष्ठभूमिबाट आएका उनले १९६८ मा वामपन्थी राजनीतिमा प्रवेश गरे।

उनी १९७१ मा पहिलोपल्ट माक्सवादी मक्युनिस्ट पार्टी (माकपा) बाट सांसद चुनिए। त्यसपछि उनी १० पटक यस पदका लागि निर्वाचित भए। उनी भारतमा सबैभन्दा लामो समय सांसद हुने नेताहरूमा पर्दछन्।

उनको राजनैतिक जीवनमा एक पटक मात्र चुनाव हारेको रेकर्ड छ। सन् १९८४ मा उनी जधावपुर् सीटबाट ममता बनर्जीसँग पराजित भएका थिए।

सन् २००८ मा उनलाई मकपाले कारवाही गर्दै पार्टीबात निष्कासित गरेको थियो। त्यसबेला डा. मनमोहन सिंहको सरकारलाई मकपाको समेत समर्थन रहेको थियो। अमेरिकासँगको परमाणु सम्झौतामा माकपाले सरकारबाट समर्थन फिर्ता लिँदा उक्त समय लोकसभाका अध्यक्ष रहेका सोमनाथ चटर्जीको नाम समेत उक्त पार्टीले आफू पक्षका सांसदहरूको सुचिमा राखेको थियो।

सभामुखले पक्ष-विपक्षमा मत हाल्न नपाउने भएकाले पार्टीले उनलाई अध्यक्ष पदबाट राजिनामा दिन दबाब दियो। चटर्जीले उक्त दबाब नमानेपछि उनलाई कारवाही स्वरूप पार्टीबाट निकालेको थियो।

उनी २००४ देखि २००९ सम्म अध्यक्ष पदमा रहे। त्यसपछि चटर्जीले कुनै पनि निर्वाचनमा भाग लिएनन्।

चटर्जी आफ्नो कार्यकालमा आर्थिक पारदर्शिताका लागि चिनिन्छन्। उनी सभामुख छँदा उनले अतिथि सत्कार र सरसफाईबापत सरकारी कोषबाट खर्च लिने परिपाटी अन्त्य गरेका थिए। त्यस्तै उनले विदेश भ्रमणमा जाँदा आफूसंग गएका परिवारका सदस्यहरूको खर्च व्यक्तिगत रूपमा व्यहोर्ने गर्दथे।

चटर्जीको निधनमा भारतका राष्ट्रपति रामनाथ कोविंद, उपराष्ट्रपति वैंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल, जम्मु र कास्मिरका मुख्यमन्त्री उमर अब्दुल्ला आदिले ट्विट गर्दै शोक व्यक्त गरेका छन्।

भारतका राजनीतिमा साह्रै लोकप्रिय चटर्जीलाई सर्वकालिक महान सांसदहरूमा गनिन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!