प्रदेश नं. ७ को नाम ‘दशरथचन्द प्रदेश !’

बैतडी, साउन २७  प्रदेश नं ७ को स्थायी राजधानी र नामकरणका लागि सुझाव संकलन भइरहँदा सहिद दशरथचन्दको नामबाट प्रदेशको नामकरण गर्न सुझाव प्राप्त भएको छ ।
बैतडी स्थित सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिएका हुन् ।

प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभाले प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उनले बताए ।

\सहिद दशरथचन्द देशकै सहिद भएकाले उनको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले अहिले सुझाव सङ्कलनको काम गरिरहेको छ ।

साउन २१ गतेभित्र नाम र स्थायी राजधानीको लागि सुझाव दिन समितिले म्याद दिएको भए पनि सुझाव सङ्कलन कार्य जारी रहेकाले समितिको म्याद एक हप्ता थपिएको छ ।

प्रतिष्ठानले बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने, सहिद दशरथचन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्ने, सहिद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ ।

यसका लागि दशरथचन्द नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!