दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख

काठमाडौं, साउन २६ । सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दैै सभामुख महराले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका छन् ।

‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो’, सभामुख महराले भने, ‘यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’

जलवायु परिवर्तनका कारण ठूला–ठूला प्राकृतिक विपदका घटनाहरु भइरहेकोतर्फ चर्चा गर्दै सभामुख महराले दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्नेतर्फ सचेत गराएको बताए ।

उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै सभामुख महराले भने, ‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ बढ्नुपर्छ । उद्यमशीलताले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ ।’

लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्नुहुँदै सभामुख महराले विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!