बेलौरी नाकालाई ७ नम्बर प्रदेशकै मुख्य नाकाको रुपमा विकास गरिने– मन्त्री बीना मगर

बेलौरी, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत बेलौरी नाकालाई प्रदेश नम्बर ७ को मुख्य नाकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

नेपाल आदिवासी जनजाति महासंघले आज बिहीबार बेलौरी–पुर्नवासमा आयोजना गरेको विश्व आदिवासी दिवस कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले कञ्चनपुरको बेलौरी नाकालाई प्रदेशकै विकसित नाकाको रुपमा विस्तार गर्ने योजना भएको बताएकी हुन ।

कञ्चनपुर जिल्लाको पश्चिमतर्फ भारतसँग गड्डाचौकी नाका रहेपनि दक्षिण क्षेत्रमा यसअघि बेलौरीसँग जोडिएको क्षेत्रमा छोटी भन्सार नाका मात्रै सञ्चालनमा रहेको छ । मन्त्री मगरले छोटी भन्सार नाकालाई स्तरोन्नती गरेर मुख्य नाका बनाउन पहल गर्ने जानकारी दिइन ।
“बेलौरी भन्सारको विषयमा वाणिज्य मन्त्रालयको टिमले भारतीय अधिकारीसंग छलफल गर्ने एजेण्डा छ ।” मन्त्री मगरले भनिन, “अहिले भारतसँगको व्यापार तथा पारवहनसँग जोडिएका विषयमा छलफल गर्न उच्चस्तरीय टोली भारत गएको छ । भारतको पनि सहमति चाहिने भएकोले बेलौरी नाकालाई स्तरोन्नती गर्ने एजेण्डामा छलफल हुने छ ।”

नेपाल सरकारका तर्फबाट बेलौरी नाकालाई महत्वका साथ हेरिएको र सात नम्बर प्रदेशकै नाकाका रुपमा विकास गर्ने योजना भएको उनको भनाई थियो । आर्थिक र सामाजिक विकासका दृष्टिबाट पछाडी परेको सात नम्बर प्रदेशको समृद्धिका लागि बेलौरी नाका अपरिहार्य रहेको उनको जिकिर थियो । “बेलौरी नाकालाई मुख्य नाकाकै रुपमा विकसित गछौँ, सरकारले आफ्नो तर्फबाट गृहकार्य शुरु गरिसकेको छ ।’

सम्बोधनका क्रममा मन्त्री मगरले जनताले विश्वास गरेर आफुलाई निर्वाचित गरेको स्मरण गर्दै जनताको अपेक्षा अनुरुप नै सिंगो ७ नम्बर प्रदेश र कञ्चनपुर जिल्लालगायत क्षेत्र नम्बर १ को विकासका लागि खटिएको बताइन ।
जनताको आश टुटन नदिने उनले प्रतिबद्धता गरिन । आफ्नो जिम्मेवारीमा रहेको खानेपानी मन्त्रालय र अन्य मन्त्रालयबाट समेत सात नम्बर प्रदेशको विकासका लागि उल्लेख्य योजना तर्जुमा बजेट विनियोजन गर्न पहल गरेको उनले जानकारी गराईन ।

कञ्चनपुरको क्षेत्र नम्बर १ अन्तर्गत, बेलौरी, बेल्डाँडी, पुर्नवास र लालझाडी विकासको महत्वपुर्ण सम्भावना बोकेको क्षेत्र भएको बताउदै खानेपानी मन्त्री मगले यस क्षेत्रका चारै स्थानीय तहको समान रुपमा विकास गर्नका लागि योजना अघि सारिएको बताए ।

सुदूरको पर्यापर्यटकिय, धार्मिक एव साँस्कृतिक विकासका लागि आफुले योजना बनाएको बताउदै योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालयसंग समन्वय भईरहेको बताईन् ।

यसका साथै सीमा क्षेत्रको समस्या रहेको बताउदै उनले सीमा सुरक्षाका लागि समेत सम्बन्धीत निकायसंग छलफल, सम्वाद भईरहेको जानकारी दिइन ।

बेलौरीमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुनिता चौधरी र पुर्नवासमा पाल आदिवासी जनजाति महासंघका अध्यक्ष घोके रानाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजातिका नेताहरुले आदिवासीको अधिकारका लागि राज्य गम्भिर नभएको गुनासो गरेका छन् ।

कार्यक्रममा मन्त्री मगरले खानेपानी मन्त्रालयले आगामी दुई वर्षभित्र सबै जनतालाई आधारभूत खानेपानीको सेवामा पहुँच पुरयाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको बताइन ।

बेलौरीमा बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी र पुर्नवासमा प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, पुर्नवासका मेयर जिवनराज थापा, लालझाडीका प्रमुख मदन सेन बडायक स्थानीय राजनीतिक दल, नागरिक समाज, आदिवासीका नेताहरुको सहभागितमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति समुदायको विभिन्न लोक संस्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!