सिनेमा हुँदै राजनीतिमा चम्किएका करुणानिधि !

चेन्नई, साउन २३ । आफ्नो ज्ञान र वक्तृत्वकलाका लागि कहलिएका मुथुभेल करुणानिधि एक सिद्धहस्त लेखक र प्रखर वक्ता थिए। समर्थकहरूले उनलाई ईश्वरकै दर्जा दिएका थिए।

चौरानब्बे वर्षको उमेरमा मङ्गलवार उनको निधन दक्षिण भारतीय राज्य तमिलनाडुको चेन्नईमा भयो। सन् १९५७ मा पहिलो चोटि निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधि पाँच पटक तमिलनाडुको मुख्यमन्त्री बने। मृत्यु हुनु अघिसम्म उनी राजनीतिमा सक्रिय थिए।

जयललिताको शव समाधिस्थ
सन् २०१६ को राज्य विधानसभा निर्वाचनमा आफ्नी कट्टर राजनीतिक प्रतिद्वन्द्वी जयराम जयललिताविरुद्ध करुणानिधिले प्रतिस्पर्धा गरेका थिए। सोही वर्षको अन्त्यतिर जयललिताको निधन भएको थियो।

उनले जयललितालाई त्यतिबेला हराउन त सकेनन् तर ९१ वर्षको उमेरमा करुणानिधिले जयललिता सरकारविरुद्ध कडा चुनौतीको नेतृत्व गरे। करुणानिधिको लोकप्रियताको एउटा प्रमुख आधार उनको लामो राजनीतिक जीवनयात्रासँग जोडिन्छ।

उनले सन् १९५७ मा पहिलो चोटि निर्वाचनमा जित्दा भारत स्वतन्त्र भएको १० वर्ष मात्र भएको थियो र जवाहरलाल नेहरू भारतका प्रधानमन्त्री थिए।

हाल नेहरू–गान्धी परिवारको चौथो पुस्ता राजनीतिमा छ। तर डीएमकेका यी अग्रज नेता आफ्ना छोरा तथा उत्तराधिकारी एम के स्टालिनलाई शक्ति हस्तान्तरण गर्न हतारिएनन्। तमिलनाडुबाहिर केन्द्रीय सरकारमा पनि उनले बेलाबखत महत्त्वपूर्ण भूमिका खेल्दै आए।

युगको अन्त्य
राष्ट्रिय राजनीतिमा उनले सन् १९८९ मा पहिलो पटक पाइला चाले। त्यतिबेला उनी प्रधानमन्त्री भीपी सिंहको न्याश्नल फ्रन्टसँग उभिए। त्यसपछि विभिन्न गठबन्धन सरकारमा डीएमके संलग्न भएको थियो।

भारतको स्वतन्त्रताअघि नै राजनीति थालेका नगण्य नेता अहिले राजनीतिमा सक्रिय छन्। करुणानिधी तीमध्ये एक थिए। त्यस अर्थमा उनको मृत्युलाई एउटा युगको अन्त्य मान्न सकिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अरू नेताहरूले उनको मृत्युमा शोक व्यक्त गरेका छन्।

सिनेमा र समाज
बीचमै पढाइ छाडेका उनी तामिल सिनेमाहरूमा एक सफल पटकथाकारको रूपमा उदाए। उनी नास्तिक थिए। सन् १९४० ताका ब्राह्मण जातीय सर्वोच्चतावादलाई चुनौती दिँदै फैलिएको द्रविड आन्दोलन तथा हिन्दीविरोधी अभियानमा उनी संलग्न भए र त्यतैबाट राजनीतिको शिखरमा पुगे।

तमिलनाडुलाई सामाजिक तथा आर्थिक रूपमा प्रगतिशील राज्य बनाउनमा उनको ठूलो देन रहेको ठानिन्छ। खासगरी पिछडिएका जातिहरूको उन्नति, सामाजिक न्याय र राज्यहरूको स्वायत्तता उनका मुख्य एजेन्डा रहँदै आए।

नातावादको आरोप
तर पछिल्ला वर्षहरूमा उनीमाथि नातावादको आरोप लाग्यो। आलोचकहरूले उनले आफ्नो परिवारभन्दा पर देख्न छाडेको बताए। उनको परिवारका कतिपय सदस्य तथा पार्टी सदस्यमाथि भ्रष्टाचारका आरोपहरू लागे। त्यही कारणले सन् २०११ को विधानसभा चुनावमा उनको दल डीएमके ले निकै खराब प्रदर्शन गरेको ठानियो। बीबीसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!