‘इन्काउन्टर’ शंकाको घेरामा, एसएमएस पठाउँदा बालकलाई जोगाउन सकिएन !

काठमाडौं, साउन २३ । महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेका हुन् ।

आजको नगारिक दैनिकका अनुसार भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । आइतबार साँझदेखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । प्रहरीले बालकको अपहरणपछि हत्या गर्नेलाई पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हान्यो र त्यसलाई ‘इन्काउन्टर’ भनिदियो।

यस्तै, आजको नयाँ पत्रिकाले प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकलाई जोगाउन नसकिएको भनेर समाचार छापेको छ । समाचारमा उल्लेख गरिएको छ एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो- ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो ।

त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ ।

अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो । तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए । उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो ।

कमेन्ट गर्नुहोस्