मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ– गृहमन्त्री

काठमाडौं, साउन २२ । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ ।

इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई म‌गलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए ।

उनले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गरे । गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानून कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे । आज सम्पन्न हुने सातौँ मन्त्रिस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी ५न्हु । सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न शुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, युएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यका रुपमा छन् ।

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । गृहमन्त्री थापा साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!