अविरल वर्षाका कारण हेटौँडा–कुलेखानी सडकखण्ड अवरुद्ध

हेटौँडा । सोमबार रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा सोमबार रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनका लागि प्रयास भइरहेको मकवानपुरका प्रजिअ आसमान तामाङले जानकारी दिए ।

यसैगरी सिस्नेरी प्रहरी चौकीका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ मदन भण्डारी राजपथअन्तर्गत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

सिस्नेरी डाँडामा गएको पहिरोलाई आज साँझसम्म हटाई हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालन गर्न काम भइरहेको जनाइएको छ । सडक अबरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौैँडा आइरहेका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रु बिहानैदेखि अलपत्र अलपत्र छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!