आधुनिक इतिहासका सर्वाधिक क्रूर तानाशाह: जसले मानिसकाे मासु खाएकाे फुर्ति लाउँथे

यस्तो थियो युगाण्डामा इदी अमिनको क्रूर दमन: ५ लाख हत्या र फ्रिजभित्र मानिसका टाउका

टिम एभरेस्ट

सन् १९७१ मा पूर्वी अफ्रिकी देश युगाण्डामा मिल्टन ओबोटेको निर्वाचित सरकारलाई अपदस्थ गर्दै जनरल इदी अमिन सत्तामा आए ।

हुन त सत्तामा आएको आठ वर्षमै उनलाई तान्जानियाको सहायतामा युगाण्डाबाट लखेटिएका युगाण्डाली जनताहरूले उनलाई सत्ताच्युत गरिदिए र उनी भागेर लिबिया गए।  त्यहाँपछि उनी साउदी अरेबिया गए र त्यहाँ २०१३ मा उनको मृत्यु भयो।

तर उनको ८ वर्षे शासन कालमा उनले जे-जसरी शासन सत्ता चलाए त्यसले विश्वभरि उनलाई कुनै स्वैर कल्पनाका खुँखार खलनायक जस्तै चिनाइदियो।

अमिनको सत्तारोहणले युगाण्डाको इतिहासमा कहिले नबिर्सिइने कालखण्डको सुरुवात भयो। उनको ८ वर्षे शासनकालमा युगाण्डा मानव इतिहासकै बर्बर दमनको साक्षी बन्न पुग्यो। उनको शासनकालमा ५ लाख मानिसहरू लाई या त हत्या गरियो या क्रुर यातना दिएर बेपत्ता पारियो।  उनी विश्वमै सबैभन्दा क्रूर तानाशाहको रूपमा कुख्यात छन्।

नाटकीय उदय

कुनै पनि प्रकारको औपचारिक शिक्षा समेत नलिएका अमिनको उदयको कथा कुनै चलचित्र भन्दा कम रोचक छैन। उनको नाम इदी अमिन दादा थियो।  उनको जन्मको समय र स्थानभन्दा बढी विवरणहरू उपलब्ध रहेका छन्।  उनको जन्म सन् १९२३ देखि २५ को बीच युगान्डाको राजधानी कम्पाला या कोबाकोमा भयो।

सानै उमेरमा पिताद्वारा परित्यक्त अमिनले १९४६ मा ब्रिटिश औपनिवेशिक सेनामा सहायक भान्सेका रूपमा प्रवेश गरे।  तर १९५९ सम्ममा उनी सेनाको वारेन्ट अधिकृतको पदमा पुगिसकेका थिए। यो उक्त समय कुनै अश्वेत अफ्रिकिका लागि ब्रिटिश औपनिवेशिक सेनामा सर्वोच्च पद थियो।

१९६१ मा उनलाई लेफ्टिनेन्ट पदमा पदोन्नति गरियो।

सन् १९६२ मा युगाण्डाको स्वतन्त्रतापछि उनी बढुवा हुँदै मेजर भए र सन् १९६४ मा उनलाई सेनाको उपकमाण्डर हुँदै उनी सेनाप्रमुख बन्न सफल भए। उनलाई राष्ट्रपति ओबोटेले सेनाप्रमुख बनाएका थिए तर उनले ओबोटेको सत्ता नै पल्टाइदिए।

साढे छ फिट अग्लो भारीभरकम जिउडालका उनी १९५१ देखि १९६० सम्म युगाण्डाका हेभिवेट बक्सिङ च्याम्पियन थिए।

युगाण्डामा सत्तापलटकाे पृष्ठभूमि

युगाण्डा ब्रिटेनबाट स्वतन्त्र हुँदा उक्त आन्दोलनको नेतृत्व गरेका थिए मिल्टन ओबोटेले। स्वतन्त्रतापछि उनी युगान्डाको पहिलो प्रधानमन्त्री भए।  उक्त समय देशका आलंकारिक राष्ट्रपतिको रूपमा युगाण्डाभित्रको जनजातीय क्षेत्र बुगाण्डाका राजा मुतीसा द्वितीय रहेका थिए।

सम्बन्धित् समाचार  मान्छेको मासु खाने राष्ट्रपति, फ्रिजबाट पाइएका थिए दर्जनौं टाउको

सन् १९६६ मा ओबोटे देशको कार्यकारी राष्ट्रपति भए।  सुरुमा प्रजातान्त्रिक सुधार र सुशासनको नारा लिएर चुनाव जितेका उनको शासनकालमा युगाण्डामा व्यापक भ्रष्टाचार भएको आरोप लाग्न थाले र उनले सन् १९६९ मा सबै प्रतिपक्षी दलहरूलाई प्रतिबन्धित गरेर निरङ्कुश शासन गर्न थाले।

 

यसैबीच इदी अमिनले भ्रष्टाचारकै आरोपमा सेनाको मद्दतले ओबोटेलाई सत्ताच्युत गरे आफूलाई युगान्डाको राष्ट्रपति घोषित गरे।

तर यसको अन्तर्य भने बेग्लै थियो।

पत्रकारद्वय प्याट ह्युटोन र जोनाथन ब्लोकले आफ्नो पुस्तक ‘डर्टी वर्क टु- द सिआइए इन अफ्रिका’मा ओबोटेको असफलता र सत्तापलटपछाडि पश्चिमा शक्तिको हात रहेको बताएका छन्।  ओबोटे सत्तामा आउँदा पश्चिमा राष्ट्रहरू उनीप्रति साह्रै सकारात्मक थिए।  सुरुमा उनका प्रमुख विदेशी साझेदार नै अमेरिका र इजरायल थिए।  अमेरिकी र इजरायली खुफिया संस्था सिआइए र मोसादले युगाण्डालाई गुप्तचर सुचना प्रदानमात्र गरेनन् अमेरिकाले उसको विकास निर्माणमा र इजरायलले थल सेना एवं वायुसेनालाई तालिम दिन मद्दत गरे।

तर यो सौहार्द्रपूर्ण सम्बन्धमा त्यस बेला खाडल देखियो जब ओबोटेले आफू राष्ट्रवादी भएको र आफ्नो लगाव समाजवादप्रति भएको घोषणा गरे।  उनले १९६९-७० तिर आफ्ना आर्थिक नीतिहरूको घोषणापत्र ‘द कमन म्यान्ज चार्टर (आम मानिसको घोषणापत्र)’ जारी गरे। यस अन्तर्गत देशमा व्यापक राष्ट्रियकरणको अभियान थाल्ने घोषणा गरियो। र यसकाे पहिलाे चरण अन्तर्गत  ८० ब्रिटिश कम्पनीहरूलार्इ राष्ट्रियकरण गर्ने घोषणा गरियाे। यसले उनका पश्चिमी साझेदारहरूलाई झस्काइदियो।

सहज पत्रको छनौट

पत्रकारद्वय ह्युटोन र ब्लोकका अनुसार पश्चिमा शक्ति राष्ट्रहरूको योजना अनुरुप नै अमिन शक्तिमा आएका थिए। उनी सुरुदेखि नै ब्रिटेनको वफादारको  रूपमा हेरिन्थे र उनले ब्रिटिश साम्राज्यका केही महत्वपूर्ण अभियानहरूको नेतृत्व सम्हालिसकेका थिए। सामान्य साक्षर उनलाई ब्रिटेनले ‘थोरै बुद्धिमान भएपनि ब्रिटेनप्रति अत्यधिक वफादार’को रूपमा हेर्न थालेको थियो।

तत्कालिन समय दक्षिण सुडानमा इजरायल र अमेरिकाको सहयोगमा संस्थापन विरुद्ध विद्रोहको बीजारोपण भैरहेको थियो। त्यही पृष्ठभूमिमा इदी अमिनको रूपमा युगाण्डाका लागि यस्तो पात्रको चयन भयो जसलाई पश्चिमा शक्तिहरूले आफ्नो इच्छा अनुरुप चलाउन सकुन।

पश्चिमा कुटनीतिज्ञहरूले अमिनलाई झुकेर अभिवादन गर्नु पर्दथ्यो

दक्षिण सुडानमा जारी उक्त अभियानमा विभिन्न पाटोबाट सहयोग पुऱ्याउने गरेका जर्मन धनकुबेर रोल्फ स्टेनरले आफ्नो पुस्तक ‘द एड्भेन्चरर’मा लेखेका छन्, “ब्रिटिशहरूले युगाण्डाको सत्ताबाट ओबोटेलाई हटाउनु थियो र यसकालागी अमिन पहिलो छनौटमा परे।  ब्रिटिशहरू के ठान्दथे भने अमिन मूर्ख भएकाले उनलाई सजिलै प्रयोग गर्न सकिन्छ।”

सम्बन्धित् समाचार  उत्तरी चीनमा कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

अमिनले पश्चिमा समर्थन पाएपछि राजनैतिक वक्तव्यबाजी सुरु गरे। उनले ओबोटे सरकारले आर्थिक अनियमितताको शिकार रहेको र लोकतन्त्र तथा कानुनव्यवस्था कायम राख्न असक्षम रेहको आरोप लगाए ।  त्यसको प्रत्युत्तरमा राष्ट्रपति ओबोटेले इदिलाई ‘अफ्रिकी आमाद्वारा ल्याइएको जनावर’ भनेको संज्ञा दिए।

युगाण्डाका जनताले पनि तत्कालीन समयमा अमिनलाई समर्थन गरे र आर्थिक सुधारको वाचा सहित उनले सत्ता आफ्नो हातमा लिए, सबै राजनैतिक बन्दीहरूलाई रिहा गरियो तथा उनले असैनिक शासन फिर्ता ल्याउने वाचा समेत गरे।

अमिनकाे यु-टर्न

तर छिट्टै उनले आफ्नो शासनकालभरि निर्वाचन नहुने घोषणा गरे र ओबोटे सरकारका वफादार रहेका सैनिक एवं अन्य अधिकारीहरूलाई सामुहिक रूपमै फाँसीमा झुण्ड्याइदिए।

उनले सट्टा सम्हालेको पहिलो वर्षमा नै ९ हजार सैन्य अधिकारीहरूको कत्ले आम गरियो।

उता अन्तर्राष्ट्रिय मञ्चमा उनको सत्तालाई सर्वप्रथम ब्रिटेनले अनुमोदन गऱ्यो ।

युगाण्डाका राजनैतिक विश्लेषक जोएल किबाजो भन्छन्, “जनताहरू ओबोटे सरकारको कार्यशैलीबाट वाक्क थिए र ब्रिटेनले युगाण्डाको सत्ता फेरि आफ्नो हातमा फर्किएको ठान्दै थियो।  त्यसैले सुरुमा देशभित्र र विदेशमा, विशेष गरी पश्चिममा उत्सवकै माहोल थियो।”

ब्रिटिशहरूलाई लाग्दथ्यो इदी अमिनलाई सजिलै आफ्नो इच्छा अनुरुप परिचालित गर्न सकिएला।  तर अमिनले यो आकलनलाई गलत साबित गरिदिए।

ब्रिटिश अपेक्षा विपरित

अगस्त १९७४ मा उनले युगाण्डामा बसिरहेका ६० हजार एसियालीहरूलाई ९० दिनभित्र देश छाडेर जाने आदेश दिए।  ती मध्ये धेरै जसो  भारतीय र पाकिस्तानी थिए।

र यसरी खेदिएका मध्ये धेरै जसोसँग युगाण्डा र ब्रिटेनको दोहोरो नागरिकता थियो।  ब्रिटेनले यस मामिलालाई सल्टाउन आफ्ना एक जना मन्त्री जियोफ्री रिपनलाई कम्पाला पठायो।  तर रिपनलाई  अमिन अत्यधिक व्यस्त रहेकाले पाँच दिनसम्म भेट्न नसक्ने भएर टारियो।  धेरै कोसिसपछि उनले रिपनलाई भेटे तर उकुरा मानेनन्।

एसियालीहरूलाई यसरी देश निकाला गरिएकोमा स्थानीयहरू भने खुसी नै थिए।  किन भने त्यसबेला युगाण्डामा रहेका एक प्रतिशत एसियालीहरूसँग देशको २० प्रतिशत सम्पत्ति रहेको थियो।

सम्बन्धित् समाचार  अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन

उन्नाइसौं शताब्दीमा युगान्डामा आफ्नो उपनिवेश कायम गरेपछि ब्रिटिशहरूले आफ्ना विश्वासपात्र कर्मचारीका रूपमा एसियालीहरूलाई त्यहाँ लागेका थिए।  उनीहरूको हातमा त्यहाँको उद्योग र व्यापार रहेको थियो।  तर स्थानीय काला जातिका मानिस भने विपन्न जिन्दगी बिताउने गर्दथे।

उनीहरूले आफ्नो दुरावस्थाको जिम्मेवार ब्रिटिशहरूपछि एसियाली मूलका मानिसहरूलाई ठान्दथे।  त्यसैले उनीहरूले यस घोषणाको स्वागत नै गरे।

अमानवीय दमन

तर त्यसपछि अमिनले एकएक गरेर आफ्ना विरोधीहरूलाई जसरी सिध्याउन थाले त्यसले मानव इतिहासलाई नै कलंकित पारिदियो।

उनी बिस्तारै विश्वभरि नै सनकी र क्रुर शासकका रूपमा कुख्यात हुन् थाले।  उनी आफ्ना विरोधीहरूको हत्या मात्र गर्दैनथे बरू तिनीहरूका लाशसँग समेत दुर्व्यवहार गर्ने गर्दथे।  उनको सरकारमा स्वास्थ्यमन्त्री  रहेका हेनरी केयेम्बाले लेखेको पुस्तक ‘अ स्टेट अफ ब्लड: द इनसाइड स्टोरी अफ इदी अमिन’मा प्रस्तुत विवरणहरूले आङ नै सिरिङ्ग हुने गर्दछ।

उनी भन्ने गर्थे, “बोल्न स्वतन्त्रता छ, तर बोलिसकेपछिको स्वतन्त्रताको भने म ग्यारेन्टी दिन सक्दैन ।

उनी मारिएका व्यक्तिहरूका मृगौला, कलेजो, मुटु, नाक, ओठ र गुताङ्ग काट्न लगाउँथे। सन् १९७४ मा कार्यवाहक सेनाध्यक्ष चार्ल्स अरुबेको हत्या भएपछि उनी अस्पताल पुगे र आफूले लाश हेर्न चाहेको बताए।  उनले लाशलाई के गरे त्यो त कसैले देखेनन् तर धेरैले उनले आफ्ना शत्रुको रगत पिएको मान्ने गरेका छन्।

अमिन युगाण्डाको काकवा जनजातिका सदस्य थिए र त्यो जनजातिमा युद्धमा हारेको दुस्मनको रगत पिउने प्रथा रहेको थियो।

केयेम्बाका अनुसार अमिनले कयौँ पल्ट आफूले मानिसको मासु खाएको भन्दै फुर्ति समेत लाएका थिए।  उनी सैन्य अधिकारीहरूलाई समेत युद्धक्षेत्रमा भोकमरीबाट बच्न मानिसको मासु खान सकिने भन्दै प्रशिक्षण दिने गर्दथे।

उनको क्रुरताको अर्को पाटो पनि छ।  उनी आफूले मन पराएकी जुनसुकै महिलालाई पनि हासिल गरिछाड्थे र तिनका प्रेमीहरूका टाउका काटेर एउटा विशेष कोठाभित्र फ्रिजमा सुरक्षित राख्ने गर्दथे।

भागेर केन्या गएका उनका एक नोकर मोजेज अलोगाले उक्त कोठामा जान कसैलाई अनुमति नभएको र उनले मात्र सरसफाईको लागि त्यहाँ प्रवेश गर्न पाउने बताए। एक पल्ट अमिनकी एउटी पत्नीले साह्रै जिद्दी गरेर त्यो कोठाभित्र जान आफूलाई घुस दिएपछि उनले चाबी दिएका थिए।  फ्रिज खोलेर हेर्दा तिनी त बेहोस भइछन्।  फ्रिजभित्र उनका पूर्वप्रेमीको टाउको रहेको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: