पाटन दरबार क्षेत्रको ढल व्यवस्थापनका लागि पिआईडी र ललितपुर महानगरबीच सम्झौता

काठमाडौं, साउन २१ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र ललितपुर महानगरपालिकाबीच सोमबार ढल व्यवस्थापनका लागि सम्झौता भएको छ ।

ललितपुर महानगरको भित्री भागमा अवस्थित विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारलगायतका धरोहर क्षेत्रमा ढल व्यवस्थापन र वर्षातको समयमा पानी जम्ने समस्या समाधान गर्नका लागि सम्झौता भएको हो ।

पिआईडीका आयोजना निर्देशक तिरेश प्रसाद खत्री र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित सम्झौतामा २.८ कि.मी ढल पुनःस्थापन तथा व्यवस्थापन गर्ने विषय उल्लेख छ ।

करिब ४८ करोड रुपियाँ अनुमानित लागत रहेको पुनःस्थापन आयोजनाले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र लगायतका धरोहरहरु रहेको क्षेत्रमा ढल व्यवस्थापनका साथै वर्षातमा पानी जम्ने समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । जनवरी २०१९ देखि आयोजनाको निर्माण कार्य सुरु भएर १८ महिना सक्ने लक्ष्य लिएको अयोजना निर्देशक खत्रीले जानकारी दिए ।

कार्यक्रममा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, निर्देशनालय, निर्वाचित जनप्रतिनिधि र डिजाइन सुपरभिजन कन्सल्टयान्टका पदाधिकारीहरुकाे उपस्थित रहेको थियो ।

तस्बिर : पिअार्इडीकाे फेसबुक पेजबाट । 

कमेन्ट गर्नुहोस्