प्रहरीका ३ वटा अनुसन्धान टोली तर अझै पत्ता लागेनन् किशोरी बलात्कारका अपराधी, बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

 

भीमदत्तनगर, कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं. २ उल्टाखामकी १३ वर्षीय किशोरी हत्याका अपराधी अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् ।

अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोली नै घटनास्थल पुगेको बताइएपनि हत्यारा अझै हत्कडी भन्दा टाढा रहेका छन् ।

प्रहरीको असफलतासँगै स्थानीयवासीको आक्रोश र आन्दोलन झन चर्केर गएको छ ।

यता प्रहरीले भने किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको कुरा पोष्टमार्टमबाट पुष्टि भएको जनाएको छ ।

बिडम्बनाको कुरा त के भने अहिलेसम्म प्रहरीले हत्या कुन स्थानमा भएको थियो भन्ने कुरा समेत पत्ता लगाउन सकिएको छैन । शव भेटिएको स्थान नै हत्यास्थल हो या अन्यत्रबाट लाश ल्याइएको हो भन्ने कुरा प्रहरीले यकीन गर्न सकेको छैन । घटनास्थलमा पानी भरिएकोले सामुहिक बलात्कार हो या एकजनाले गरेको या घटनास्थल कहाँ हो भन्ने कुरा पत्ता लगाउन नसकिएको भन्ने कमजोर तर्क प्रहरीले दिएको छ ।

प्रहरीले “भ्याजिनल स्वाब’ जाँच गर्न पठाएको पनि उक्त जाँचको प्रतिवेदन आउन महिनौं लाग्न् सक्छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ। यसका साथै प्रदेश ७ का ९ वटै जिल्लामा अनुसन्धानमा दखल राख्ने र अनुभवी सबै प्रहरीलाई बोलाएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीको टोलीले पनि अनुसन्धान गरिरहेको छ।

‘कुनै संकेतसम्म पत्ता लाग्न सकेको छैन’ डिएसपी सेठीले भने, ‘घट्ना भएको दुईरतीन दिन लगातारको आन्दोलनले पनि प्रभाव पारेको प्रहरीको भनाई छ । अर्कोतर्फ तत्काल किशोरीका आफन्तसंग कुरा गर्न नसक्दा अनुसन्धानका लागि आवश्यक जानकारी लिन नसकिएको प्रहरीले बताउँछ ।

घटनाको राजनीतिकरण

प्रहरीले अनुसन्धानका क्रममा ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको छ। अझै यो क्रम जारी रहेको जनाएको छ। किशोरीका बुवाले भने शंकास्पद व्यक्तिलाई सोधपुछ गरेर छाडेकोमा आपत्ती जनाएका छन्। ‘हामीले जसमाथि शंका गरेका थियौं, उनीहरुलाई सामान्य सोधपुछ गरेर छाडियो’ उनले भने, ‘हामीले केहि भन्दा अनुसन्धान गरिरहेका छौं भन्छन्।’

अघिल्लो विहीवार बेपत्ता किशोरीको शव शुक्रवार विहान भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा भेटिएको थियो।

दिनहुँ प्रदशर्न

शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन। उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन्।

आईतबार पनि आन्दोलनरत महिलाहरुको एक समुह आएर बजार बन्द गराए। उनीहरुले खुला रहेका पसलहरु जबर्जस्ती बन्द गराउँदै हिडे। महेन्द्रनगरको मदन चोकमा पुगेर प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै हत्यारा पत्ता लगाउन भईरहेको ढिलाईप्रति आक्रोश पोखे।

‘अनुसन्धान भईरहेको छ भन्दा भन्दै यतिका दिन वितिसके’ किशोरीका बुवाले भने, ‘कतै घट्ना लुकाउने खेल त भईरहेको छैन, घट्नामा ठुलै मान्छेको हात छ कि जस्तो पनि लागेको छ।’ उनले स्थानीय प्रहरी प्रशासनलाई दवाव दिन लागि परेको बताए। सोमबार पनि महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!