‘प्रचण्ड कमरेड ! बधार्इ दिएर मात्र पुग्दैन, रङ्गशाला निर्माणका लागि पहल गर्नुस’

काठमाडौं, साउन २० ।

नेपालमा क्रिकेट खेललाई अझै गुणस्तरीय बनाउन रङ्गशाला निर्माणका लागि पहल गरिदिन प्रशंसकहरुले नेकपाका अध्यक्ष प्रचण्डसँग माग गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल अन्तर्गत नेपाले पहिलोपटक खेल्दै नेदरल्याण्ड्सलाई दोश्रो खेलमा हराएपछि प्रचण्डको ट्विटमा प्रतिक्रिया दिँदै क्रिकेट खेलाडीका लागि रङ्गशाला बनाउन माग गरेका हुन ।

गत शुक्रबार नेदरल्याण्ड्ससँग भएको दोश्रो खेलमा नेपालले विजय हासिल गर्दै श्रृंखला बराबरीमा रोकेको थियो । नेपालले जितेपछि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ‘एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय’ भन्दै ट्विट गरेका थिए ।

प्रचण्डको ट्विटमा अगाडि लेखिएको थियो–  ‘आजको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको छ । नेपाली क्रिकेट टीमको यो जीतका लागि कप्तान पारस खडकादेखि सम्पूर्ण टीम, प्रशिक्षक र विश्वभरीका नेपालीहरुमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।’

प्रचण्डको ट्टिवमाथि प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ता जेबी थापाले टिप्पणी गर्दै लेखेका छन्– कम्रेड तपाईंहरु बधाइ को भागिदार हुनुभन्दा खेलाडीलाई एउटा खेल्ने रंगशाला बनाइदिनुस तीन करोड नेपाली को माया पाउनुहुन्छ ।

यस्तै अर्जुन भुसाले अलि रोचक तरिकाले लेखेका छन्– यही जीतको झोंकमा एकदुई वटा अलि गतिला स्टेडियम बनाइदिए नि हुन्थ्यो नि कसैले । प्रकाश भट्टले भने खेलकूद क्षेत्रलाई प्राथमिकता दिन प्रचण्डसँग अनुरोध गरेका छन् भने बियास आचार्य लेख्छन्– बुढा अब ३ ओटा जति गतिलो क्रिकेट  रंगशाला बनाउन पहल गर्नुपर्यो बधाई मात्रै दिएर हुन्छ ?

यसैगरी दीपक अधिकारीले चाहिँ अब त एउटा रंगशाला बनाइ दिनुहोस् खेलाडी को खेलले पनि जिस्काइरहेको छ कमरेड भन्दै लखेको छन् ।रोहित अधिकारीले भने जनयुद्धको नाममा भए पनि एउटा अन्तर्राष्ट्रिय राङ्गशाला बनाई दिनु पर्यो कम्तिमा एउटा प्रदेशमा एउटा भन्दै टिप्पणी गरेका छन् ।

नेपालमा क्रिकेट स्टेडियमका लागि लामो समयदेखि माग हुँदै आएको छ । सरकारले राजधानी र राजधानी बाहिर स्टेडियम बनाउने काम अघि सारेको भएपनि अहिलेसम्म त्यसले ठोस गति लिन सकेको छैन । काठमाडौंको मूलपानी क्रिकेट रंगाशालाको काम अगाडि बढेको छ भने चितवनमा भरतपुर महानगरपालिकाको नेतृत्वमा धुर्मुस सुन्तली फाण्डेसनले स्टेडियम तयार पार्दै छ । यसैगरी कैलालीको धनगढीमा भने स्थानीय जनताले नै स्टेडियम निर्माणको पहल गरेका छन् ।

नेदरल्याण्ड्सविरुद्ध नेपालको खेल उत्कृष्ट भएसँगै क्रिकेटको व्यवसायिक विकासको आवाज चौतर्फ उठेको छ । नेपाली खेलाडीमा अवसरको कमी भएको तर क्षमता भने रहेको पुष्टि भएको भन्दै धेरैले तत्काल स्टेडियम र अन्य पूर्वाधार विकासमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!