एक हप्तामा मात्रै दिल्लीबाट ६८ नेपाली महिलाको उद्धार

काठमाडौं, साउन २० । नयाँदिल्लीबाट गतहप्ता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ । समाचारमा उल्लेख गरे अनुसार उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको छ । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।

तीमध्ये १३ जना स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रहने पुष्टि भएपछि उनीहरूलाई छाडिएको थियो । बाँकी ३९ जनामध्ये तीनजनाले दिल्ली महिला आयोगको सेल्टर होममा बयान बदलेका थिए । उनीहरू स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रोजगारीका लागि बस्न चाहेको प्रमाणित भएपछि बाँकी ३६ जनालाई मात्रै शनिबार नेपाल फर्काइएको प्रवक्ता ओडारीले जानकारी दिए ।

मंगलबार जहाजबाट काठमाडौं ल्याइएकामाथि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । दूतावासका काउन्सलर पुरुषोत्तम कँडेलले उनीहरूलाई काठमाडौं ल्याएका हुन् । मैदानगढीमा भेटिएका १६ जनालाई माइती नेपाल र रेस्क्यु फाउन्डेसन दिल्लीको जिम्मा लगाइएको छ । उनीहरूलाई पनि केही दिनभित्रै काठमाडौं ल्याइने जानकारी दूतावासले दियो । हाल उनीहरू दिल्ली महिला आयोगको सेल्टर होममा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!