पीडित श्रीमतीले नै ‘डिभोर्स’ माग्दा श्रीमानलाई उन्मुक्ति

दैलेख, साउन २० । दैलेखका महिलाहरु धेरै महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १-२ बच्चा जन्माइसक्छन् । आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ । त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन् ।

जिल्लाको नारायण नगरपालिका-४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए ।

जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत वैशाखमै पाँचौं सन्तान छोरा जन्मियो । छोरा जन्मेको पनि ४ महिना पुग्दै छ, यी भएकै छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति वसन्त सुनारले २१ वर्षकी एक युवतीलाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन् ।

शुक्रबार नारायण नगरपालिका-१० भवानीकी संगीता विकलाई दोस्रो पत्नीका रुपमा भित्र्याएका हुन् तर संगीतालाई भारत लैजाँदै गर्दा सुर्खेतबाट पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही चलाउन चन्द्राले जिल्ला प्रहरी कार्यालय दैलेख पुगेकि छन् । हुर्किएका २ सन्तान आफन्तको जिम्मा लगाएर तीन जना दूधेबालक बोकेर चन्द्रा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुगेकि हुन्।

प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३-४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८-१० वटा मात्र चल्ने गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउँछन् । यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उनको ठम्याइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!