खानेपानी मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीच छलफल, बेलौरी नाका खोल्न भारतसँग औपचारिक प्रस्ताव लगिने

काठमाडौं, साउन १७ । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी नाका भन्सार स्तरोन्नती गर्न भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि नेपाल सरकारका तर्फबाट औपचारिक प्रस्ताव लगिने भएको छ ।

कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा खानेपानी मन्त्री बीना मगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच बिहीबार भएको भेटमा भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि औपचारिक प्रस्ताव लैजाने विषयमा छलफल भएको हो ।

हालैमात्र नेपाल सरकारले नेपाल र भारतबीच व्यापार तथा पारवहनका सम्बन्धमा भारतीय सम्बन्धित पक्षसँग छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैंजुको नेतृत्वमा टोली गठन गरी भारत पठाउने निर्णय गरेपछि उक्त टोलीको एजेण्डामा उपर्युक्त विषय समावेशका गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री यादवसँग उनकै कार्यकक्षमा भएको छलफलमा बेलौरी नाकाको एजेण्डासमेत समावेश गर्न मन्त्री मगरले अनुरोध गरेकी थिइन ।

छोटी भन्सार नाका सुचारु नहुँदा कन्चनपुरको दक्षिण क्षेत्र र अन्य जिल्लाका वासिन्दा र उद्यमीहरुले ठूलो समस्या झेल्नुपरेको बताउदै मन्त्री मगरले सीमावर्ती भारतीय जिल्ला लखिमपुरका सांसदहरुले समेत यो विषयमा पहल गरेपनि भारतीय पक्षबाट वाणिज्य मन्त्रालयको सहमति खोजिएको जानकारी गराएकी थिइन ।

मन्त्री यादवले आगामी साता व्यापार, पारवहन, भन्सार, नाका लगायतका विषयमा नेपाल भारतबीच भएका सम्झौता तथा व्यवहारिक पक्षमा छलफल गर्न टोली जाँदै गरेकोले उक्त विषयलाई औपचारिकरुपमा पेश गर्ने बताए ।

“बेलौरी नाकालाई सुचारु गर्ने औपचारिक प्रस्ताव नै एजेण्डामा समावेश गर्छौं ।” मन्त्री यादवले भने, “मन्त्रालयका तर्फबाट अन्य केही पहल आवश्यक परे त्यसका लागि पनि सहयोग हुने छ ।”

कञ्चनपुरको दक्षिण क्षेत्रलाई भारतसँग जोड्ने प्रमुख नाकाका रुपमा रहेको छोटी भन्सार बन्द हुँदा कृषि उपजको निर्यात तथा आवश्यक सामानको आयातमा सबैभन्दा ठूलो समस्या स्थानीयवासीले झेल्दै आएका छन् ।

विगतदेखि नै उक्त नाका खोल्न बारम्बार पहल गरिएपनि हालसम्म नाका खुल्न सकेको छैन ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला समेत उक्त एजेण्डालाई छलफलमा राख्न मन्त्री मगरले पहल गरेकी थिइन ।

“आजको छलफल निकै सकारात्मक भयो ।” मन्त्री मगरले भनिन्, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयका पदाधिकारी सम्मिलित टोली भारत जाने भएकोले यो एजेण्डा औपचारिकरुपमा नै टेबल हुन्छ । नाका तत्काल खुल्नेमा विश्वस्त छौं ।”

बेलौरी नाका सुचारु गर्न नेपालका तर्फबाट कुनै समस्या नभएपनि भारतीय पक्षले चेकपोष्ट हटाएका कारण हाल ठप्प अवस्थामा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!