राष्ट्रिय पंक्षी डाँफेको संख्या किन घट्दैछ ?

चराचुरुङ्गीबीचको आन्तरिक द्वन्द्व तथा चोरीसिकार जस्ता कारणले हिमाली भेगमा पाइने सुन्दर डाँफे चराकोको संख्या कम हुँदै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ।

हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे चरा ढोरपाटन क्षेत्रमा पनि काग तथा बाजले जिस्काउने र लखेट्दा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ।

जाडो याममा लालीगुराँस फुल्ने जंगल तथा गर्मीमा माथिल्लो बुकी क्षेत्रमा समूह बनाइ बस्ने डाँफेलाई काग तथा बाजले लखेट्दा भागेर ढोरपाटनको बेसी झर्ने क्रममा ठोक्किएर घाइते हुने र स्थानीय सिकारी कुकुरले समात्दा मर्ने गरेको ढोरपाटन सिकार आरक्षले जनाएको छ।

काग र बाजले लखेट्दा गएको बैशाखमा मात्रै तीनवटा डाँफे घाइते भएको र माथिल्लो क्षेत्रको यकिन तथ्याङ्क निकाल्न नसकिएको बताइएको छ।

हिमाल, पहाड र तराई तीनै प्रकृतिको भूगोल भएको ढोरपाटनमा डाँफेको बासस्थान रहेको पहाडी भेग र ढोरपाटन उपत्यकाको सीधा दूरी कम भएकाले पनि भाग्ने क्रममा मैदानमा आएर ठोक्किने गरेको आरक्ष कार्यालयका प्रमुख अणनाथ बरालले बताए।

वर्षा यामपछिको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत सिकारीहरू र भेडागोठालाहरूले पासो थाप्ने र मार्ने गरेकाले नेपालमा यसको संख्या कम हुदैँ गएको बताइएको छ।

विश्वमा यस चराको संख्या कति होला भनेर अनुमान गरिएको छैन तर नेपालमा यसको संख्या ३ हजार ५ सय देखि ५ हजारसम्म भएको अनुमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको छ।

७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे नेपाललगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ।

ढोरपाटन नगरपालिकाका स्थानीयबासी पानबहादुर बिकले पहिले भन्दा डाँफे कम देखिन थालेको बताउँछन्। यसको प्वाँख विभिन्न धार्मिक परम्परामा अत्यन्त महत्त्वका साथ प्रयोग हुने गरेको छ।

डाँफेको स्वभाव नै कोही देख्यो भने लुकी हाल्ने, कसैले जिस्कायो भने डराइहाल्ने भएकाले स्वभाव अनुसारको बासस्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको चरा विज्ञहरूले बताएका छन् । बीबीसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!