मोहनबिक्रम सिंह भन्छन्– प्रचण्डसँग क्रमभङ्गता गर्ने राम्रो क्षमता छ

काठमाडौं, नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले सरकारले चुनावी घोषणापत्र अनुरुपका कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र र एमालेबीच एकता नभएको भए देश गम्भीर अस्थिरता र संकटतर्फ जाने अवस्था हुन्थ्यो भन्ने विश्लेषण गर्दै आएका सिंहले रातोपाटी अनलाईनमा प्रकाशित अन्तर्वार्तामा समाजवादको आधार तयार पार्ने दिशामा सरकारको भूमिकाको अपेक्षा गरेका छन् ।

पार्टी एकता कसैको व्यक्तिगत लाभका लागि थियो भन्ने कुरा गलत भएको बताउँदै महामन्त्री सिंहले कुनै नेताका लागि व्यक्तिगत लाभ भएपनि पार्टी एकता देशको हितमा नै रहेको बताएका छन् । “देशलाई फाइदा पुग्ने भएर हामीले स्वागत गरेका हौँ । प्रचण्ड र ओली नमिलेको भए के हुन्थ्यो ? पार्टीसँगै सरकार सञ्चानलनमा अफ्ट्यारो आउँथ्यो । त्यसपछि गम्भीर परिणाम आउन सक्थे ।” उनले भनेका छन् , “एकताले सरकारलाई स्थिर बनाउन र देशको विकास गर्न मद्दत गरेको छ ।”

प्रचण्डबारे सोधिएको एक व्यक्तिगत प्रश्नमा नेता सिंहले प्रचण्डमा राम्रो क्षमता देखेको बताएका छन् । “प्रचण्डमा एउटा राम्रो क्षमता देखेका छौँ । उहाँले अफ्ठ्यारो परेमा सही निर्णय लिने क्षमता राख्नु हुन्छ ।” उनको समीक्षा छ, “ ओली सरकार अपदस्त गराएर काङ्ग्रेससँग जानुभयो । त्यसलाई हामीले गलत भन्यौँ । गलत कदम चाल्नुभयो, पुनर्विचार गर्नुपर्छ भनेर भन्यौँ । पछि त्यो गर्नुभयो पनि । काङ्ग्रेससँगको सम्बन्ध तोडेर एमालेसँग मिल्नुभयो । यस्ता निर्णय गर्ने कुरामा उहाँको क्षमता राम्रो छ । जसलाई उहाँले आफूले भन्ने गर्नुभएको छ, क्रमभङ्गता । क्रमभङ्गता गर्ने क्षमता राम्रो छ ।”

नेता सिंहले देश र जनताका लागि केन्द्रीत भए आवश्यकताअनुसार पद लिँदै अघि बढे प्रचण्डलाई सफजल बनाउने उनको विश्लेषण देखिन्छ । उनले भनेका छन्, “देश र जनताका लागि केन्द्रित हुनुभयो भने त्यसले उहाँलाई अझै सफल बनाउँछ । लामो इतिहास बोकेको काङ्ग्रेस अहिले कस्तो अवस्थामा आइपुग्यो । देउवाको नेतृत्वले पार्टीलाई कहाँ पुर्यायो । पाठ सिक्नुपर्छ नेकपा र उसका नेताहरूले ।”

सैद्धान्तिकरुपमा कुरा नमिल्दा आफू एकता प्रक्रियामा सहभागी नभएको उनले् जिकिर गरेका छन् । खासगरी एमाले, माओवादी केन्द्रबीच भएको एकता होस् या विप्लव र वैद्यसँगको एकताको कुरा होस्, संघीयता र जातीयता हेर्ने दृष्टिकोणले गर्दा समस्या भएको उनको ठहर देखिन्छ । यद्यपी नेता सिंहले माओवादी केन्द्र र एमालेबीचको एकताले कम्युनिष्ट पार्टीको निर्माण नभएपनि यो सकारात्मक रहेकोमा थप जोड दिएका छन् । “देशको राष्ट्रियता बचाउन, गणतन्त्र, धर्मनिरपेक्षता कायम गर्न र देशको विकास गर्न मद्दत पुग्छ । त्यसकारण पनि यो एकता देशको हितका लागि सही छ ।” उनको ठम्याई देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावमा आफूले गरेका प्रतिबद्धता पूरा गर्नतर्फ ध्यान दिन सुझाव दिँदै नेता सिंहले देशको विकास र समृद्धिको कुरा, भष्ट्रचारलाई न्यूनीकरण गर्ने कुरा, देशको राष्ट्रियताको जगेर्ना गर्ने कुरा, चीनसँगको सम्बन्ध विस्तार गर्नेलगाएतका कुरा दृढतापूर्वक लागू गर्नुपर्ने बताएका छन् । “काम गर्दा व्यक्तिवादी वा स्वेच्छाचारी प्रकारको भन्दा पनि जनमत हुन्छ भने त्यसलाई आधार बनाउँदै, नीति पद्धतिलाई परिवर्तन गर्दै जानुपर्छ । मैले जे भने त्यो सही छ भन्ने होइन ।” सुझाव छ, “डा केसीको विषयमा सुरुमा जसरी प्रस्तुत हुनुभयो वा सही दृष्टिकोण अपनाउन सक्नु भएन । त्यसलाई हामीले पनि गलत भन्यौँ । तर त्यसलाई सन्तोषजनक हिसाबले हल गर्ने कुरामा उहाँले भूमिका राम्रो भयो । न्यायालय क्षेत्रका विषयमा पनि सही निर्णय लिनुपर्छ । अब दुर्गा प्रसाईंको अभिव्यक्तिलाई हल गर्नुपर्छ । यसलाई ठीक समयमा हल गर्नुभएन भने अरू नोक्सान पुर्याउँछ ।”

उनले अगाडि भनेका छन्, “व्यक्तिवादी, स्वच्छाचारीभन्दा पनि सबैको सल्लाह लिएर अघि बढ्नुपर्छ । आफ्ना सल्लाहकारबाट सही सल्लाह लिनुपर्छ । पार्टी एकता गर्नुभएको छ । सरकारको नेतृत्व गरेको हिसाबले पनि बढी जिम्मेवारी उहाँमा हुन्छ । पूर्व माओवादीसँग राम्रोसँग सम्बन्ध कायम गर्ने, सरकार भित्रका अन्तर्विरोध मैत्री हिसाबले हल गर्ने जस्ता कुराम ध्यान दिनुपर्छ । यो सरकारले जनताको हितमा काम गरोस्, विकास र समृद्धि कायम गरोस् र देशमा स्थिरता पैदा गरोस् प्रधानमन्त्री र सरकारलाई हाम्रो सुझाव हो ।”

नेपालमा माओवादी आन्दोलनभित्र माओ विचारधाराको सैद्धान्तिक आलोकमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा बोकेर संगठन चलाईरहेका मोहनबिक्रम सिंह चालिसको दशकमा तत्कालिन चौथो महाधिवेशनको फूटसँगै पातलो मसालको नेतृत्व गर्दै आएका छन् । मोहन वैद्यसँग पाँचौ महाधिवेशनका क्रममा चर्को विवाद गरेका सिंह र उनको पार्टी अहिले पनि अर्ध भूमिगत अवस्थामा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!