ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

रोल्पा, साउन १७ । रोल्पाको माडी गाउँपालिका-१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका-२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर दुर्घटना हुँदा गएराति २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका-१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो । दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो ।

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!