हत्यारालाई कारबाही र पीडित क्षतिपूर्तिको माग गर्दै मन्त्री मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, साउन १६ । कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वार्ड नं २ मा बालिका बलात्कार तथा हत्या घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न खानेपानी मन्त्रीको नेतृत्वमा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

खानेपानी मन्त्री एवं कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य बीना मगरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेट गर्दै पीडितलाई क्षतिपूति र हत्यारालाई कारबाहीको माग गरेका हुन ।

हत्यामा संलग्न अपराधी पक्राउ नपरेको कारण पीडितले न्याय नपाउने र अनावश्यक रुपमा घटनाको राजनीतिकरण हुने अवस्था सिर्जना भएको भन्दै ज्ञापनपत्रमा प्रहरी अनुसन्धानलाई तीब्रता दिन माग गरिएको छ ।

गृहमन्त्रीसँग भेटका अवसरमा टोली प्रतिनिधिहरुले कञ्चनपुर र प्रदेश नम्बर ७ मा अपराधिक घटनाहरु श्रृंखलाबद्धरुपमा बढ्दै गएको उल्लेख गर्दै पीडित परिवारको संवेदनालाई राजनीतिकरण गर्ने तत्वहरु सक्रिय भएको बताएका थिए । घटनामा प्रहरीले समयमा नै चासो दिएपनि अनुसन्धानले गति भने लिन नसकेको बताउँदै तत्काल शान्ति सुरक्षाको अवस्था मजबूत गर्न समेत माग गरेका थिए ।

स्थानीयस्तरमा पीडित परिवारलाई मुआब्जा र सहयोगका लागि पहल भइरहेको र सरकारका तर्फबाट समेत शोकमा परेको परिवारलाई सहयोगका लागि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझाउन खानेपानी मन्त्री बीना मगर, कञ्चनपुर जिल्ला क्षेत्र नं। २ का प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्य सांसद निरु पाल, क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, पूर्व सभासद, टिकेन्द्र भट्ट, पूर्व सभासद कृपा राना पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक बीर बहादुर थापा पातल, नेकपा नेता अक्कल बिष्ट, जिसस प्रमुख फैरु तामाङ, संघीय जनसम्पर्क मञ्च सल्लाहकार परिषद संयोजक गोकर्ण भट्ट, कमला बोहरा, अनेरास्ववियू सचिवालय सदस्य मर्यादा विष्ट, भीम भट्ट, शन्कर भट्ट वडा सदस्य बेल्डाडी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!