ब्रेथलाईजर मेशिन बिग्रीदा सुँघेरै मापसे जाँच !

बाँके, साउन १६ । मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताए । मापसे गरे-नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याउनपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ ।

सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ । मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए ।

सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उनको भनाइ छ । “जाँचमा खटिएका ट्राफिक प्रहरीलाई सरुवा रोगको जोखिम छ,” रोकायाले भने । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!