डोल्पामा हार्ने डर, बामदेवको इच्छा प्यूठानबाट चुनाव लड्ने !

काठमाडौं, साउन १६ । नेकपाका नेता तथा सचिवालय सदस्य बामदेव गौतमले डोल्पाबाट नभई प्युठानबाट चुनाव लड्ने चाहना राखेका छन् । आजको दृष्टिसाप्ताहिकले लेखेको समाचार अनुसार नेता गौतम डोल्पामा चुनाव जितिनेमा भने ढुक्क नरहेकाले आफ्नो पुरानै चुनावी क्षेत्र प्युठानबाटै चुनाव लड्ने चाहना राखेका हुन् ।

हाल पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर गौतम त्यहाँबाट चुनाव लड्ने चर्चा भैरहेको बेला दृष्टि साप्ताहिकले ‘बामदेवको चाहना प्यूठान’ शीर्षकमा समाचार छापिएको छ ।

त्यसका लागि वाम गठबन्धनकी उम्मेदवारकी रुपमा प्युठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई राजीनामा दिन लगाउने प्रयाससमेत भइरहेको समाचारमा उल्लेख छ । डेढ बर्षपछि राष्ट्रियसभाको निर्वाचनमार्फत पौडेललाई राष्ट्रियसभामा ल्याउने र उनलाई मन्त्री बनाउने आश्वासन दिएर राजीनामा गराउने प्रयास समेत भइरहेको छ । तर, पौडेलले निर्णय दिइनसकेकी समाचारमा उल्लेख गरिएको छ ।

गौतमलाई शक्तिशाली प्राधिकरण बनाएर त्यसको उपाध्यक्ष नियुक्ति गर्ने तयारी समेत प्रधानमन्त्री कार्यालयले गरेको तर, त्यो प्रस्ताव पनि रोकिएपछि गौतमलाई सांसद बनाउने प्रयास अघि बढेको समाचारमा छ । केही दिन अगाडि मात्र बामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी भएको सञ्चार माध्यममा समाचार आएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!