भारतीय नक्सलवादीसँग मिलेर घनिभूत सशस्त्र संघर्षको तयारीमा विप्लव माओवादी

काठमाडौं । त्यसो त नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसअघि पार्टीको नाम पछाडि राखेको माओवादी शब्द हटाएर नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेको छ । तर विशेष सूत्रका अनुसार, विप्लव माओवादीले यतिखेर भने सशस्त्र संघर्षको घनिभूत तयारी गरिरहेको छ ।

र, उसको प्रत्यक्ष सम्बन्ध भारतमा सशस्त्र संघर्षको नेतृत्व गरिरहेको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) पिप्ल्स वारसँग रहेको छ । भारतमा सशस्त्र संघर्ष चलाईरहेको यो पार्टी सन् २००४ मा भाकपा (माओवादी केन्द्र)सँग एकतापछि अहिले बलियो अवस्थामा रहेको छ ।

नेपालमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीले सशस्त्र संघर्ष चलाएको बेला भाइचार संगठनका रुपमा पिपुल्स वार ग्रुपले नेपालमा चलेको जनयुद्दलाई प्रत्यक्ष सहयोग गरेको थियो । पछि नेकपा माओवादी सेना समायोजनसँगै शान्ति प्रक्रियामा आएपछि भने नक्सलवादीका रुपमा समेत परिचित भाकपा (पिपुल्स वार समूह) र नेकपा माओवादीबीच चर्को सैद्धान्तिक संघर्ष चलेको थियो ।

सोही बेला सन् २००६ मा उक्त पार्टीका महासचिव तथा प्रवक्ता आजादले नेपालको माओवादी आन्दोलनले संसदीय बाटो समातेको र वर्ग संघर्षलाई बिर्सेको भन्दै लामो अन्तर्वार्ता मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसपछि भने नेकपा (माओवाद)), माओवादी केन्द्र र मुपल्ला गणपत राव (क. गणपति) नेतृत्वको भारतको माओवादी आन्दोलनबीच सम्बन्ध विच्छेद भएको थियो ।

नेपालमा प्रचण्ड नेतृत्वसँग असहमति राख्दै विप्लव समूह अलग भएपछि भने विप्लव समूहले भारतमा रहेको आफ्नो संगठनमार्फ नक्सलवादीहरुसँग सम्बन्ध बढाएपछि नक्सलवादी र विप्लव समूहबीच भारतीय विस्तारवाद र नेपाली सत्ताविरुद्ध संघर्ष गर्ने कार्यगत समझदारी बनेको सूत्रले बतायो ।

यद्यपी विप्लव समूहलाई बिभिन्न बेला भारतीय सत्ताले प्रयोग गरिरहेको आरोप भने नलागेको होइन । त्यसो त यस्तै प्रकृतिको आरोप माओवादीले जनयुद्द सञ्चालन गर्दा समेत लागेको थियो ।

विशेष श्रोतले दिएको जानकारी अनुनसार, नेपालमा माओवादी केन्द्र र एमालेबीच एकता भएपछिको परिस्थितिमा माओवादी आन्दोलनलाई अघि बढाउन भारतीय कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपले विशेष चासो लिएको छ । नेपालमा माओवादी आन्दोलन कमजोर पर्दा त्यसको सोझो असर भारतमा चलेको माओवादी सशस्त्र आन्दोलनमा पर्ने भएकोले विप्लव समूहसँग सहकार्य बढाएर नेपालमा रहेका अन्य माओवादी स्कूलिंगका पार्टीहरुलाई एकता गर्ने र एक अर्कालाई सहयोग गरेर सशस्त्र संघर्ष चर्काउने रणनीति भारतीय माओवादीहरुको छ ।

अपुष्ट जानकारी अनुसार, नेपालमा सशस्त्र संघर्षको पुनः थालनी, दक्षिण एशियामा नै हिजोका दिनमा प्रचण्डले अघि सारेको कम्पोसाको अवधारणालाई पुनः उठान गर्न र अन्तर्राष्ट्रिय माओवादी आन्दोलनलाई पुनर्जीवित गर्न विप्लव, भारतीय माओवादी र केही अन्य देशका माओवादी पार्टी नेतृत्वबीच औपचारिक तहमा नै छलफल भएको छ ।

गत साता मात्रै मोहन वैद्यले आफूहरु सशस्त्र संघर्षको तयारीमा रहेको खुलासा समेत गरेका थिए । विप्लप, मोहन वैद्य र मोहनबिक्रम नेतृत्वको कम्युनिष्ट पार्टीबीच एकताको समेत यसअघि चर्चा चलेको थियो । मोहन बिक्रमले भने कार्यगत एकताको तहमा मात्रै कुराकानी भएको र पार्टी एकताबाट भने आफूहरु टाढा रहेको स्पष्ट पारिसकेको छन् । मोहन वैद्य र नेत्र बिक्रम चन्दबीच भने पार्टी एकताकै लागि तयारी शुरु भएको बिभिन्न समयमा दुबै पार्टीका नेताले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । भारतीय माओवादी पक्षले भने यी दुबैको एकताका लागि विेशष जोड दिएको श्रोतले जनायो ।

खासगरी पेरुमा गोन्जालोको आन्दोलनले धक्का खाएपछि सेलाएको माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन रिमलाई पुर्नजिवित गर्न समेत भारत र नेपालका माओवादीबीच यो बीचमा छलफल भएको छ । सम्भवतः छिट्टै नै संसारभरिका माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको कार्यदिशा र माओवादी आन्दोलनका बारेमा एकल कार्यदिशा र दृष्टिकोण निर्माणको तयारी समेत भइरहेको छ ।

श्रोतका अनुसार, यो आधारमा तत्काल नै हतियार नै उठाएर या २०५२ सालमा माओवादीले घोषणा गरेजस्तो जनयुद्दको शंघघोष नगरेपनि तयारीको चरण पुरा भएपछि स्थानीय प्रतिरोधको तहमा विप्लव माओवादीले केही गतिविधि गर्ने देखिन्छ । यसका लागि विप्लव माओवादीले सशस्त्र संघर्षका लागि आन्तरिक तयारीलाई तीब्र पारेको र कार्यगत एकताका लागि मोहन वैद्यलगायतका समूहसँग समते छलफल तीब्र पारेको छ।

विप्लव समूहले हतियारबद्ध संघर्ष सुरु गर्ने औपचारिक घोषणा गरेको अवस्थामा वर्तमान सरकारका पूर्व माओवादी मन्त्रीहरुलाई समेत नैतिक संकट पर्ने, संसदीय सत्ताको चरित्रका आधारमा दमनमा उत्रिनैपर्ने र यसो गरिएमा एमालेसँग एकताका कारण रुष्ट भएका कार्यकर्ता र पूर्व जनमुक्ति सेनाको साथ पाइने आँकलन विप्लव समूहले गरेको छ ।

भारतीय माओवादीहरुसँगको सहकार्य र निरन्तरको छलफलका आधारमा वस्तुगत परिस्थिति तयार हुने बित्तिकै विप्लव समूहले संघर्षको घोषणा गर्ने गरी अहिले युद्दको तयारीका लागि दुबै देशका कम्युनिष्ट पार्टीबीचको सहकार्य झन बलियो भएको समेत श्रोतले बतायो । यद्यपी वामपन्थी सरकार देशमा विद्यमान रहेको अवस्थमा विप्लवल शुरु गर्ने भनिएको सशस्त्र संघर्षले उचाई लिने या नलिने भन्ने कुरामा भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!