अझै तीन दिन वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं, असार २८ । बुधबार रातिदेखि लगातार वर्षा भएपछि राजधानी लगायत धेरै स्थानको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण भक्तपुरमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ ।

तर जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा अझै केही दिन वर्षा जारी रहने जनाएको छ । बुधबार दिउँसो पनि देशभरि नै बदली भई मध्य र पश्चिमका अधिकांश स्थानहरुमा वर्षा हुन सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षा हुने बताइएको छ ।

शुक्रबार र शनिबार पनि देशभरिनै बदली भई देशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । नदीमा पानीको बहाव बढ्ने र वर्षासँगै बाढी, पहिरो र डुबान हुन सक्ने भएकाले महाशाखाले सचेत रहन सबैमा अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार देशैभर हल्कादेखि मध्यम खालको बर्षा हुने भएकोले देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली लगायतका प्रमुख नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

रातीको समयमा केही नदीमा पानीको तह उच्चतहमा पुग्ने अनुमान छ । यस्तै पश्चिमको चुरेबाट बग्ने साना नदीहरुमा बाढीको संभावना रहेको छ ।

यी नदीहरुमा भोली शुक्रबार पनि पानीको बहाव उच्च हुने र शनिवार भने सामान्य हुने पूर्वानुमान छ । ठूला नदी तथा साना नदीमा बाढीको उच्च जोखिम भएकोले ती स्थानमा बसोबास गर्नेहरुलाई उच्च सर्तक रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्