मालिकको खानामा महिनावारीको रगत मिसाउँदा महिला पक्राउ

मालिक र कामदारबीचको सम्बन्ध अक्सर त्यति सुमधुर मानिंदैन । अक्सर मालिकहरूले कामदारहरूको शोषण गर्ने गरेको गुनासाहरू सुनिने गर्दछ त्यति मात्र होइन मालिकहरूले समेत कामदारहरूले कम्पनीको हित अनुरुप काम नगरिरहेको गुनासा गरिराख्छन् । विशेष गरेर मालिकको नजिक भइयो भने विभिन्न फाइदाहरू लिन सकिने भएकाले नै कतिपय मानिसहरू यसकानिम्ति विभिन्न प्रयत्नहरू गरिराख्छन् ।

यस्तै अनौठो र उदेकलाग्दो प्रयत्न एउटा इण्डोनेसियाली महिलाले गरेकी छिन् । इन्द्रा निंसिह नाम गरेकी ती २६ वर्षीय महिलाले केही समय अघि आफ्नो मालिकसँगको अस्थिर सम्बन्ध सुधार्ने उपायका नाममा खानामा महिनावारीको रगत मिसाएकी हुन् ।

द स्ट्याण्डर्ड अखबारले जनाए अनुसार उनले काम गर्ने वातावरण सुध्रिने आशले यस्तो परिकार मालिकलाई खुवाउन लागेको बताएकी थिइन् । अखबारका अनुसार दक्षिणपूर्व एसियाका केही संस्कृतिहरूमा महिनावारीको रगतमा विशेष कालो जादूको शक्ति हुने गरेको विश्वास गरिन्छ ।

निंसिहले बनेको यस्तो परिकार उनका मालिकले खान भने पाएका थिएनन् । उनकी अर्की सहकर्मीले भान्छाकोठाको ढोकाबाट चियाउने क्रममा उनको शंकास्पद गतिविधि फेला पारेपछि उनको पोल खुलेको थियो ।

उनकी सहकर्मी भान्सामा छिरेपछि उनले हतारहतार कुनै चीज डस्टबिनमा फालेकी थिइन् । मोक नाम गरेकी उनकी सहकर्मीले उक्त वस्तु नियाल्दा रगत लागेको टेम्पून भएको प्रमाणित भएको थियो ।

हङकङको एउटा कम्पनीमा कार्यालय सहायकको रूपमा कार्यरत रहेकी ती महिलामाथि खानामा विष या अन्य हानिकारक पदार्थ मिसाएको मुद्दामा कारवाही भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्