लघुकथा : लज्जा

उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि- ‘यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त, कहाँ आइपुगेँ ?’

‘तपाईं लास घरमा हुनुहुन्छ म्याडम, हामी तपाइँजस्तै लासहरू हौं, समय पर्खिरहेका ।’

‘हँ लासघर? किन ? तपाइँहरू पनि लास ? समय पर्खेको ? किन ‘

लघु कथाकार सुमन सौरभ

‘हजुर! यो लासघर, हामी पनि लास ,समय पर्खेको। हामीमध्ये कोही घरका मान्छेले कहिले लैजालान र सद्गतीको कार्य गर्देलान भनेर पर्खिदै छौं। कोहि पोस्टमार्टमको पालो पर्खिरहेका छौं। कसैको पोस्टमार्टमको भइ सकेको छ । त्यसको रिपोर्ट पर्खिरहेका छौँ। तपाइँ चाहिँ कसरी मर्नु भएको नि?’

‘भने नि आत्महत्या गरेकी। उसले मेरो शरीरमा आँखा लगायो। मेरो लाज लुट्न खोज्यो। केही सीप लाग्ने देखिन र इज्जत जोगाउन आत्महत्या गरेकी।’

‘ए त्यसो भए यो पुलिस केस हो तपाइँलाइ पनि पोस्टमार्टम गर्न ल्याइएको हो। अब धैर्यतापुर्वक पालो पर्खनुस।’

‘पुलिस केस? पोस्टमार्टम ? किन?’

‘मरेकी कि मारेको भनेर छुट्याउन ।’

‘किन छुट्याउनु? मरे पनि मारे पनि के फरक पर्छ र अब? के के गर्छन् नि पोस्टमार्टम मा?’

‘तपाइँलाई सर्वाङ्ग नाङ्गी बनाउँछन । अङ्गअङ्गलाई होसियारिका साथ निरीक्षण गर्छन । ठाउँठाउँमा चिर्छन। लासको भाषा बुझ्छन र रिपोर्ट लेख्छन।अनि त्यही अनुरुपको सिफारिस लेख्छन् – मरेको कि मारेको?’

ऊ त्रसित भई र सङ्कुचित पनि-‘ के रे ? अब पनि मलाई नाङ्गै बनाएर वरिपरिबाट घुमिघुमी हेर्छन ? जहाँ पायो त्यहीँ छुन्छन ?’

ऊ स्टेचरमा थिई, ओर्लिई। अरु कराए- ए !तपाईं कता ? पोस्टमार्टम त्यही स्टेचर मै हुन्छ ।त्यहीँ त्यही अवस्था मै चुपचाप बस्नुस ।’

‘यही लाज बचाउन त आत्महत्या गरेकी मैले आफ्नो नाङ्गो कुमारी शरीरको गिजोलागिजोल कसरी सहनु? मरेपछि पनि न छाड्ने भए लाज थोपर्न ? नाइँ म फेरि आत्महत्या गर्छु।’

साभार: लघुकथाको रचनाविधान

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!