दिल्ली कठिन मोडमा, नयाँ कप्तानले सन्दीपलाई आज खेलाउँला ?

काठमाडौं, वैशाख १७ । इन्डियन प्रिमियर लीग (आइपीएल) को ११ औं संस्करणमा आज नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किंग्ससँग भिड्दै छ ।

नेपाली समयअनुसार राति ८.१५ बजे पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा हुने खेलमा चेन्नईलाई पराजित गर्ने रणनीतिमा दिल्ली रहेको छ । त्यसैगरी आफ्नो घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै आईपीएलको शीर्ष स्थानमा उक्लिने दाउमा चेन्नई रहेको छ ।

चेन्नई भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका महेन्द्रसिंह धोनी कप्तानीमा रहेको छ भने श्रेयस आइयरको कप्तानीमा दिल्ली रहेको छ । यसअघि श्रेयसको कप्तानीमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको थियो ।

दिल्लीको लागि यो खेल निकै महत्वपूर्ण छ । शुरुवाती पाँच खेलमा पराजय भोगेको दिल्लीलाई आइपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने बाध्यता छ ।

दिल्ली अहिले आइपीएलको पुछारमा छ । ७ खेलमध्ये ५ खेलमा हार र २ खेलमा जित हात पारेको दिल्लीको ४ अंक रहेको छ । आइपीएलको शीर्ष स्थानमा भने सनराइजर्स हैदरावाद रहेको छ । त्यस्तै, दोस्रो स्थानमा चेन्नई रहेको छ भने तेस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब छ ।

दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी ८ जना विदेशी खेलाडी छन् । यीमध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउने छन् ।

नेपालका सन्दीपले अहिलेसम्म कुनै खेल पनि खेल्न पाएका छैनन् । अवसरको पर्खाइमा रहेका सन्दीपको आजको खेलमा पनि खेल्ने मौका निकै कम रहेको खेल विश्लेषकहरुको दाबी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!