विवादका कारण कांग्रेस बैठक बस्न सक्ने, आवेगमा नआउन पौडेललाई शंशाकको चेतावनी

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन्।

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारे।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गरे।

पार्टी केन्द्रीय कार्यसमिति बैठक सर्वसम्मतिले सम्पन्न भए पनि वरिष्ठ नेता पौडेलले तत्सम्बन्धमा आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ।

उनले शुक्रबार बस्ने पार्टीको निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकले पदाधिकारी मनोनयन गर्ने दाबी पनि गरे। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफ्नो भएको पनि महामन्त्री कोइरालाले बताए।

महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि बताए। उनले बामपन्थीहरू एक भएका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि स्मरण गराए।

महामन्त्री कोइरालाले शीर्ष नेताहरूबीचको सहमतिमै पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!