काबुल विस्फोटमा पत्रकारसहित २१ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, वैशाख १७ । अफगानिस्तानको राजधानी काबुलमा भएका दुईवटा विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु गएको र कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य अधिकारीका अनुसार दुवै विस्फोट काबुलको शाश्दारक क्षेत्रमा भएको थियो।

त्यो क्षेत्रमा अफगानिस्तानको रक्षा मन्त्रालय, गुप्तचर सेवा कार्यालय र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको कार्यालय रहेका छन्।

अधिकारीहरूका अनुसार मोटरसाइकल चढेका आत्मघाती आक्रमणकारीले पहिलो विस्फोट गराएका थिए।

लगत्तै त्यस घटनाको समाचार संकलनका लागि आइपुगेका पत्रकारहरू भएको स्थान नजिकै अर्को विस्फोट भएको थियो।

विस्फोटमा कम्तीमा २७ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

विस्फोटमा फ्रान्सको एएफपी समाचार संस्थाका लागि काम गर्ने एकजना फोटो पत्रकारको समेत ज्यान गएको बताइएको छ।

आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। घटनापछि राष्ट्रपति असरफ गनीले पर्वान प्रान्तको भ्रमण योजना स्थगित गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!