समाजसेवा होस त सुन्दरको जस्तो

उर्लाबारी । कमाउने सबैले गाउँ बिकासमा सहयोग गर्दैनन् । सहयोगको लागि धनमात्र होईन मन पनि चाहिन्छ ।

गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका ७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कहिले सडक बत्ती त जडान त कैले विद्यालयमा विविध सहयोग ।

त्यतिमात्र होइन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणीय छ ।

चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्,उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका छन् । धन पनि मन पनि भएका व्यक्ति हुन्, सुन्दर ।

गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानिमा गाउँ नै सुन्दर बनाउँदै छन् । सुन्दर अर्थात समृद्धियुक्त । यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । भन्छन्,सकुन्जेल गाउँ विकासमा सहयोग गरिरहने हो, नसकेको दिन देखा जे होला ।

उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् ।

उर्लाबारी ९ को प्रभात निमाविमा उनले ३ लाख लागतमा मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् ।

यतिमात्र होईन,सोही विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् । गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन् । नत्र गाउँ अन्धकार थियो ।

सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्, धनभन्दा पनि मन भएर सहयोग गरेको हुँ । उनले अब विद्यार्थीको लागि छात्रवृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए । हालसालै उनले प्रभात निमावि उर्लाबारी ९ मा अध्ययरत १० जना विद्यार्थीको लागि पठनपाठनमा लाग्ने सम्पुर्ण जिम्मा लिएका छन् ।

यस्तै १ लाख लागतमा स्थानीय भोटेपुलमा जेष्ठनागरिकका लागि विश्राम स्थल बनाईदिएका छन् । जहाँ उनले राष्ट्रियस्तरका पत्रपत्रिका तथा पुस्तक पढ्ने व्यवस्था मिलाइदिएका छन् । उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्रभित्र बाटो बनेको छ ।

स्थानीय काजी लिम्बू भन्छन्, घरअगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अवस्था छैन्, गाडी आँगनमै आईपुग्छ । बाटो खोलेपछि सम्भावना झनै बढेको लिम्बूले बताए ।

सुन्दरको यात्रा

घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिएका थिए ।

खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन् । सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए ।

निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन्, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए ।

उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् ।

ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन ।

श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!