धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषदको संयुक्त आयोजनामा धनगढी, कैलालीमा यही २०७५ वैशाख १४ र १५ गते आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न भएको छ ।

स्थानिय कैलाली जनपुस्तकालयको सभाकक्षमा भएको गोष्ठीमा प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापा प्रमुख अतिथि एवं प्रदेश नम्बर सातका आन्तरिक मामिला एवम् कानुनमन्त्री प्रकाशबहादुर शाहको विशिष्ट आतिथि रहेका थिए ।

यसका अतिरिक्त उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुख नर्मदेश्वरी सत्यालको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो दिन उदघाटन समारोह, कार्यपत्र प्रस्तुति, स्रष्टा सम्मान एवम् रचना वाचनको कार्यक्रम रहेको थियो ।

नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहको सञ्चालन सचिव योगराज आचार्यले एवम् अन्य समारोहको सञ्चालन महासचिव बाबुराम आचार्यले गरेका थिए ।

उदघाटन समारोहमा मन्तव्य दिने क्रममा प्रमुख अतिथि अर्जुनबहादुर थापाले सुपको साहित्यिक चिन्तन परापूर्व कालदेखि विकास हुँदै आएको, यस क्षेत्रका विभिन्न स्रष्टाले योगदान दिँदै आएको सन्दर्भका साथै आफ्नो लेखनगत जीवनका बारेमा प्रकाश पारेका थिए । उनले प्रदेश सरकार यस क्षेत्रको भाषासाहित्य, कला एवम् संस्कृतिका क्षेत्रमा कार्य गर्न प्रतिबद्ध रहेको र यसका लागि सबैले सहयोग गर्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेलले यस क्षेत्रका स्रष्टाले नेपाली आख्यानका साथै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको सन्दर्भको प्रस्तुतिका साथै नेपाल प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रलाई महत्वपूर्ण साहित्यिक केन्द्रको रुपमा हेरेको बताएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुख नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले बालसाहित्यको कामलाई महत्व दिएको र सुप क्षेत्रमा रहेका गलत चिन्तन एवम् कुरीति हटाएको खण्डमा नेपाली समाज एवम् साहित्य क्षेत्रमा महत्वपूर्ण फडको मार्ने दृष्टिकोण प्रस्तुत गरिन् ।

कार्यक्रममा सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, सुप कला प्रतिष्ठानका सचिव गुणाकर पनेरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा डा. टिएन जोशी किशोर, गणेश नेपाली, गुणाकर पनेरु, तोयनाथ भट्ट, कविराज भट्ट, मनिराज जोशी, यज्ञराज यात्री, बद्रीनाथ भण्डारी तथा हेमन्ती जोशी, गगनसिंह ऐर, केदारप्रसाद आचार्य, ध्वजबहादुर महरा, हरिकृष्ण कडायत लगायत १०० जनाको हाराहारीमा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

यस समारोहमा स्रष्टा अर्जुनबहादुर थापा एवम् जनक रसिकलाई वि.स. २०७४ सालको नेपाली वाङ्मय प्रतिभा सम्मान वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!