कञ्चनपुरका विभिन्नस्थानमा एक वर्षमा ४ पटक भारतीय पक्षद्वारा हस्तक्षेप

कञ्चनपुर, वैशाख १६ । गएको एक वर्षमा भारतसँग सीमा जोडिएको कञ्चनपुर जिल्लाका विभिन्न सीमा क्षेत्रमा चार पटक भारतीय पक्षबाट हस्तक्षेप भएको छ ।

पछिल्लो पटक गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली भूमिमै विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बलले ज्यादतीशैलीमा अवरोध सिर्जना गरेको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जंगली जनावर गाउँ पस्न बाँचबचाउन विद्युतीय तारबार लगाउँदा एसएसबीले अवरोध सिर्जना गरेको हो ।

पुनर्वास नगरपालिका–९ का स्थानीयले नेपाल भारत सीमा पिलर नम्वर १९५ को नेपाली भूभागमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध सिर्जना भएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सुरक्षाकर्मीले एकतर्फी ढंगबाट हेपाहा प्रवृति देखाउदै दादागिरी शैलीमा अवरोध गरेका हुन् ।

भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्तर्गत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरिएका कारण सीमा पिलर १९५ मा अवरोध सिर्जना गरेर तारबार पनि उखेलिदिएका छन् ।

भारतीय पक्षबाट एक वर्षको अवधिमा मात्रै कञ्चनपुरको चारवटा सिमा क्षेत्रमा ज्यादती भएको छ । एसएसबीको अवरोधपछि तारबार लगाउने काम रोकिएको छ ।

अघिल्लो फागुनमा पुनर्वास नगरपालिका ४ आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा नेपाली नागरिक गोविन्द गौतममारिए । सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा डे«न्च खनियो भने कात्तिकमै भीमदत्त गरपालिका १० जिमुवामा होमपाइप बिछ्याउने बेला एसएसबीबाटै अवरोध भयो ।

माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी पटक पटक श्रृंखलाबद्ध ढंगबाट भारतीय पक्षबाट नेपाली भूमिमा धावा बोल्ने काम भएको भन्दै स्थानीयले भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।

पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदासमेत नेपाल पक्षले राष्ट्रियताका विषयमा कुटनीतिक पहल नगरेको स्थानीयको गुनासो छ ।

पुनर्वासका स्थानीय अगुवाहरुले हालै नेपालका प्रधानमन्त्री भारतमा भ्रमण गरेर फर्किएको केही दिनमै भारतीय पक्षबाट सीमा क्षेत्रमा नेपालीमाथि ज्यादती भएको घटनाले नेपालबाट समस्या समाधानका लागि कुटनीतिक पहल नभएको टिप्पणी गरेका छन् ।

सीमा सर्वे टोली खटाउँदा समेत सरकारको गैर जिम्मेवारीपनका कारण समस्या खडा भएको स्थानीयको गुनासो छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको पर्याप्त पहुँच नभएका कारण पनि पटक पटक सीमा क्षेत्रमा भारतीयपक्षबाट समस्या खडा हुने गरेको स्थानीयको बुझाइ छ । इमेजखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!