दनुवार बस्ती हसतान्तरण गर्दै राष्ट्रपतिले भनिन् – समृद्धिका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी

सिन्धुपाल्चोक, वैशाख १७ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भिमटारमा बनाइएको दनुवार बस्ती हस्तान्तरणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको लागि सबै क्षेत्रबाट पहल गर्न जरुरी रहेका बताएकी छन् ।

२७ करोड रुपैयाँ लागतमा एसओएसले बनाएको एक सामुदायिक भवन, विद्यालय र बस्ती आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले वडाध्यक्ष कमलरत्न दनुवारलाई हस्तान्तरण गरिन्।

‘एसओएसबाट भएको काम सह्रानीय छ , विपन्न वर्गलाई सहयोग हात अगाडि बढाउन जरुरी कुरा हो, ’ भण्डारीले स्थानीयमाझ भनिन्, ‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडि बढ्नेछ, यसको संरक्षणको जिम्मा स्थानीय सरकारले गर्नुहोस्। ’

दनुवार बस्तीको निरीक्षण गरिसकेपछि भिमेश्वरी माध्यमिक विद्यालय हस्तान्तरण गरेकी राष्ट्रपति भण्डारीले सबैलाई विकासमा लाग्न आग्रह गरिन्। ‘हेलम्बु, तातोपानीजस्ता महत्वपूर्ण क्षेत्रको प्रवर्द्धन गरिन आवश्यक छ, कृषि उत्पादन अगाडि बढाउन सिँचाइ अत्यावश्यक देखिन्छ, ’ उनले भनिन्।

उनले बन्द रहेको तातोपानी नाका खोल्नुपर्ने र मेलम्चीको पानी राजधानी पुर्‍याउनेजस्ता कुरा तत्कालै गर्न पहलकदमी लिएको सुनाइन्। ‘नयाँ अभियान लिएर उत्साहपूर्ण ढंगले अगाडि बढ्नुहोस् चाहिने सहयोग गर्न तत्पर छौँ,’ उनले भनिन्।

आवास हस्तान्तरण गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दनुवार परिवारले खुसीसाथ भव्य स्वागत गरेका थिए। सुरक्षा घेराका कारण भण्डारीलाई बाहिरबाटै फूलमालाले फ्याँकेर स्थानीयले सम्मान गरेको वडाध्यक्ष दनुवारले बताए।

एसओएसका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले गाउँको स्वरुपलाई बस्तीले थप व्यवस्थित बनाएकोमा खुसी व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!