अाइतबारदेखि संसारीमाई महापूजा शुरु

गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजबाट शुरु भएको छ ।

छ दिने यो महापूजाको आइतबार पहिलो दिन संसारीमाईको मन्दिर (गहवर) को विशेष सरसफाइ गरिएको छ । साथै जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ ।

यस महापूजाको दोस्रो दिन सोमबार कलश शोभायात्रा, मंगलबार लखराम पूजा र हनुमान आराधना, बुधबार अस्टजाम, बिहीबार विडी सलामी हुने कार्यक्रम रहेको पूजा समितिका अध्यक्ष अनिलकुमार झाले बताउनुभयो ।

महापूजाको अन्तिम दिन अर्थात् मुख्य दिन आउँदो शुक्रबार वैशाख २१ गतेका दिन बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म खोइछ भराइ कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि संसारीमातालाई बलि प्रदान गर्ने कार्यक्रम छ ।

जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य बलि दिइने तथा अन्य विभिन्न गाउँठाउँ, विभिन्न जिल्ला र भारतबाट समेत यस महापूजामा बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगासहित करीब १० हजार बलि प्रदान हुने जनाइएको छ । महापूजामा पाँच लाख श्रद्धालुले मेला भर्न आउने अनुमान गरिएको महापूजा समितिले जनाएको छ ।

अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती छ । तर यो पूजा कहिले र कसले शुरु गरेको भन्ने बारेमा कसैलाई थाहा छैन ।

पहिला–पहिला प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो । त्यसपछि सात वर्ष र विगत दुई वटा महापूजा पाँच÷पाँच वर्षको अन्तरालमा भएको थियो । त्यस्तै पाँच वर्षको अन्तरालमा हुने यो महापूजा तेस्रो रहेको महापूजा समितिका अध्यक्ष झाले बताउनुभयो ।

महापूजाका लागि पूरै जलेश्वरलाई दुलहीझैँ सिंगारिएको छ भने यो महापूजामा रु ३५ देखि ४० लाख खर्च हुने अनुमान गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!