प्रचण्डकाे उद्घाेष : अब बिप्लव, बैद्य सहितका सबै माओवादी एक हुन्छाैँ

काठमाडौं, बैशाख १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रचण्ड निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।”

दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले स्मरण गरे । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भने, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।”

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो ।

उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!