हरेक गाउँमा खानेपानी पुर्याउने मार्गचित्र बनाउछौ : मन्त्री बिना मगर

चन्द्रागिरी, वैशाख १५ । खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ ।

काठमाडौको चन्द्रागिरी नगरपालिका १२ हरियाली बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताउनुभयो ।

‘देशभरिको खानेपानी अवस्थाबारे एकीन विवरण नै संकलन भएको छैन,’ उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी गरिरहेका छौ ।’

तराई तथा पहाडका फरक-फरक भुगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने मन्त्री मगरले बताउनुभयो ।

‘तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर तराईमा स्वच्छ खानेपानी पुर्याउन ८ वटा ठुला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने योजना छ,’ उहाँले भन्नुभयो, ‘पहाडमा खानेपानीका मुहान संरक्षण र ‘वितरणको छुट्टै योजना छ ।’

खानेपानीका लागि गृहिणी महिलाहरुले गर्नुपरेको संघर्ष र मेहनत कम गर्न मन्त्रालयले योजना बनाइरहेको उहाँले बताउनुभयो ।

खानेपानी मन्त्रालयले सेवामुलक र ब्यावसायिक गरि २ किसिमका योजना बनाउने उहाँले बताउनुभयो । ‘जनतालाई स्वच्छ खानेपानी पुर्याउने योजना सेवामुलक हो । खानेपानीमा आधारित उद्योगले सञ्चालन गरेर रोजगारी र आयआर्जन वृद्धि गर्ने योजना ब्यवसायिक हो,’ उहाँले भन्नुभयो, ‘नेपालका हिमालबाट बगेको पानी शुद्ध हुने भएकाले विदेशमा धेरै माग छ ।’

नेपालमा पानी उद्योगको विकास गरेर राष्ट्रिय आय बढाउन सकिने उहाँले बताउनुभयो । मेलम्चीको पानी छिटो काठमाडौ पुर्याउने र लार्के र याङ्ग्रीको पानी समेत त्यसमै जोड्ने योजना बनेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठले काठमाडौका जनतालाई रेल र पानीजहाजभन्दा पहिले खानेपानी चाहिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!