नेपाल टेलिकमको सेवाप्रति प्रधानमन्त्रीको आक्रोश, गुणस्तर सुधार्न निर्देशन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा नेपाल टेलिकमको प्रगतिबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका थिए ।

नेपाल टेलिकमजस्तो अत्यन्तै महत्वपूर्ण निकायभित्र मुसा या मुसा प्रवृत्तिका कारण सेवा प्रवासमा समस्या देखिनु दुखद भएको उनको भनाई थियो ।

प्रधानमन्त्रीले टेलिकमभित्रका समस्या हल गरेर जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

सोही कार्यक्रममा प.प्रधानमन्त्रीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउँदै रोक्न निर्देशन दिएका छन् । त्यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासहितको उपस्थितिमा टेलिकम अधिकारीहरुसँग गम्भीर छलफल गरेका थिए ।

प्रधानमन्त्रीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचारी खटाउन निर्देशन दिएको निजी सचिवालयले जनाएको छ । ती शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रको निर्देशन थियो ।

प्रधानमन्त्रीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए । ‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्,’ उनले भने, ‘त्यस्तो हुनु भएन ।’
प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताएका थिए ।

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!