शाखा थपेर प्रधानमन्त्री शक्तिशाली, कोठा नपाएर कर्मचारी हैरान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालय र अन्य मन्त्रालय मातहतका केही महाशाखाहरुलाई प्रधानमन्त्री कार्यालय मातहत लिएर आए ।

यसो गर्नुको उद्देश्य प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउनु थियो । राष्ट्रिय अनुसन्धानदेखि अन्य निकाय पाएर प्रधानमन्त्री त शक्तिशाली हुने नै भए, तर बिजोग भयो कर्मचारीहरुको ।

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेपछि अहिले ती कर्मचारीलाई दैनिक कार्यसञ्चालन गर्न नै समस्या देखिएको छ ।

प्रधानमन्त्री कार्यालयले अहिले नयाँ ठाउँ खोजिरहेको पनि उपयुक्त स्थान भेटिएको छैन ।

प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेपछि ११ वटा महाशाखा अन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी थपिएको छ । यसमा ५ जना त सचिव नै छन् ।

यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा नयाँ थपिएका हुन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् ।

प्रधानमन्त्री केपी ओलीलाई प्रत्यक्ष रिपोर्टिङ गर्ने गरि नतिजा व्यवस्थापन महाशाखा बनेको छ । यो महाशाखाले सबै मन्त्रालयले बजेट खर्चअनुसार कस्तो परिणाम दिएका छन् अनुगमन गर्नेछ । शासकीय सुधार महाशाखाअन्तर्गत राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलाई राख्ने गरी तयारी भइरहेको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित एक समाचार अनुसार, कार्यकक्ष अभाव भएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयलाई पत्राचार गरिएको छ। सचिवालयलाई १६ वटासम्म कोठा उपलब्ध हुने गरी छिटो व्यवस्थापन गरिदिन पत्राचार गरेको समाचारमा छ ।

महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् ।

भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!