इतिहास, पुष्पलालको शालिक ढाल्नेले पढुन्

चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दुध भल्भली उमाल्न पुग्ने दाउराको भारी ल्याउनुपर्छ, अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यु समाएर अगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ। अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र भट्याएर आफ्नै दुर्दशा ननिम्त्याउँदा सैको भलो हुन्छ ।

कुरो के हो भने, विपरीत ध्रुर्व र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समुहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ। उनीहरु सधैं सकारात्मक चीजहरुको नकारात्मक व्याख्या सहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुर्ख्यौली हैकम कायम गर्न चाहान्छ्न् ।

हिजो भारतीय दादागिरीलाई अजंगको देखेर बिहान बेलुकी दिल्लीमा सिटामोल खान कुँद्ने उक्त समूह र उसका नाइँकेहरु, उसैलाई गाली गलौज गरेरै राष्ट्रवादको खोल ओढे, आज फेरि समाजलाई भ्रमित पार्दै उसैको सेवामा हाजिर भएर पुरानै लुटको स्वर्गमा फर्किन चेष्टा गर्दैछन् ।

सम्भवतः हामी आम सर्वसाधारणको चिन्ता ‘देश बनाउने भाँती नभएकाहरुले नबिगारुन् पनि’ भन्ने हो । बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठाने जस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् , निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौं । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी , जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं ।

उमेश बञ्जाडे

फलतः आज त्यसैको दुर्दशा व्यहोरिरहेका छौँ र अझै लामो समयसम्म व्यहोर्नुपर्ने निश्चित छ। सत्ता बाहिरहँदा दैनिक देश विकासको खाका कोर्नेहरु देश हाँक्ने ठाउँमा पुगेपछि अर्कैको अनुदानमा लठ्ठिएका छन् ।

हुन त अर्कैको फर्मानमा सास फेर्दै अरूले बनाइदिने सिद्धान्त बोक्नेहरूसँग आफूले बनाउने भन्ने एजेन्डा कहाँ हुन्छ र ? तर, पनि समृद्ध देश निर्माणको खाका र योजना बाँड्ने ठाउँमा पुग्न मरिहत्ते गर्दै सत्ता हड्प्नेहरु गुलेली खेलाउने केटाकेटीले ल्याएको व्यवस्थामा रमाएर आज फेरि उनैप्रति छुद्रता व्यक्त गर्दैछन् ।

पंक्तिकार ती आफैलाई उत्कृष्ट राष्ट्र सेवकको दुहायी दिने मनुवाहरुलाई आग्रह गर्दछ, ‘महोदय, यदि ती माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्‍याल चुहाउँदै विलौना गर्न, के हिम्मत छ ? बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास, जसले सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन भण्डारी हत्याकाण्डको विषय, सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हैसियत ? सोच सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ। अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न खासै शोभा पनि दिँँदैन ।

देशमा यसपटक आफैलाई भस्मै वामपन्थी भन्नेहरुको गठबन्धन सहित बहुमतीय सरकार छ। विगतमा धेरैपटक सरकारमा गएका वाम पार्टी र उनका प्रतिनिधिहरुले बहुमत नभएरै काम गर्न नसकेको गुनासो व्यक्त गर्ने गर्थे । सरकार गठन पूर्व सुशासन र समृद्धिको प्रवचन दिएर नेता एवं वर्तमान सरकारका मन्त्रीहरु निकै जंगिएका थिए ।

परन्तु त्यो जोश पनि विगत जस्तै अन्ततः आश्वासनको चिहानमै गएर खाँदिएको छ। गाउँ गाउँमा प्रतिस्पर्धात्मक बन्दै गएको बलात्कार, उच्छृृङ्खलता, भ्रस्टाचार, तस्करी, सुशासन हिनता एवं देश बनाउने मन्त्रीहरुको समाचार बनाएर चर्चाको चुलिमा पुग्ने ‘बरिलै मोह’ले जनता आजित बन्दै गएका छन् ।

सारांशमा जति सुनपानीले चोख्याउन खोजेपनि नेपालमा चोखो कर्मचारी, नेता, जनप्रतिनिधि, प्रहरी, सेना आदि पाउन असम्भव नै देखियो– टनका टन सुनको तस्करीले स्पष्ट बतायो । देश बनाउने भन्ने कुरा भाषणमै सीमित भो, दुर्भाग्य । फेरि पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीले १०–१५ जना मान्छे बटुलेर उखान भट्याउने र लोक हँसाउने बाहेकका उपती लाउने छाँट देखिएन ।

जसरी नेपाल खाल्डोको प्रथम परिचयले सुशोभित काठमाडौंले अझैसम्म आफू बाहिरको भुगोललाई टेरपुच्छर लगाउँदैन, दुरुस्त उस्तै सोचबाट ग्रसित एमाले अध्यक्ष ओलीले पनि आफ्नु कित्ता बाहिरका विचार, उदेश्य र व्यक्तिहरुलाई सधैं निषेध गर्ने अति खतरनाक व्यबहारलाई जहिल्यै अख्तियार गरेको देखिन्छ ।

पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुईल्याउने कुरामा ओलि विगतदेखि नै जब्बर बनेको पाइन्छ । कहिले आफैलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने बहुमुखी ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिदै लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समिक्षा गरुन् ।

एकातिर चुनौतीको चाङ लगाउन सिपालु र अर्कोतिर कुम्लो बोकेर सुइँकुच्चा ठोक्न पनि उत्तिकै पोख्त ओलि प्रवृत्ति पहाड उठाउन नसक्ने परन्तु अवसरहरु सवै आफ्नै पोल्टामा पार्न सेतोलाई कालो बनायर वा गलतलाई पनि सहि दाबी गर्दै सदैव देशले पाँउदै गरेका झिनो निकासहरुमा समेत अवरोध उत्पन्न गर्नेमै समय व्यतित गर्दैछन् ।

फेरि पनि माओवादी केटाकेटीलाई आफ्नो उखानेश्वर ज्ञानको वर्णन गर्न हतारिएका ओलिीलाई विनम्रताका साथ आग्रह गरिन्छ, ‘इतिहास माओवादी केटाकेटीलाई होईन– सत्ता गुमेको वियोगान्त पिडामा रन्थनिदै पुष्पलालको सालिक भत्काउने आफ्नै सुसारेहरुलाई पढाउन्।’

उमेश बन्जाडे
लमही दाङ, हालः क्वालालम्पुर, मलेसिया

कमेन्ट गर्नुहोस्

error: Content is protected !!