नयाँ तथ्यांकअनुसार नेपालीहरुको अौषत प्रतिव्यक्ति आयमा वृद्धि

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको नयाँ तथ्याङ्क अनुसार नेपालीहरूको औसत प्रतिव्यक्ति आय १ लाख रुपैयाँ (१ हजार डलर) नाघेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रले नेपालको आर्थिक अवस्था खत्तम भएको सन्देश दिएका थिए, जसले मानिसहरू आत्तिएका थिए । तर, अहिले सार्वजनिक भएको तथ्यांकले राहत दिएको छ । हुन त श्वेतपत्रमा उल्लेख भएका सरकारी स्रोत व्यवस्थापनका बेथितिहरूबारे धेरै विवाद छैन तर त्यसमा भनिएजस्तै हाम्रो अर्थतन्त्र खराब रहेन छ, प्रगति उन्मुख छ भन्ने तथ्यलाई भने विभागले पुष्टि गरेको छ ।

नेपालको आर्थिक वृद्धिदर कति हुन्छ भन्नेमा विभिन्न संस्थाका विभिन्न अनुमान सार्वजनिक भएपनि विभागको तथ्याङ्कलाई आधिकारिक मान्नुपर्ने हुन्छ । यस आधारमा नेपालको आर्थिक विकासदर पनि राम्रै हुने आँकलन गर्न सकिन्छ ।

हुन त विभागले अहिले सार्वजनिक गरेको तथ्यांक यस आवको ९ महिनाको प्रारम्भिक अनुमान हो । बाँकी ३ महीनामा हुने परिवर्तनले यसमा केही थपघट हुन सक्छ र त्यसपछि सही तथ्याङ्क प्राप्त हुन सक्छ ।

विभागले अहिले सार्वजनिक गरेको तथ्याङ्क यस आर्थिक वर्षको ९ महीनाको प्रारम्भिक अनुमान हो । बाँकी ३ महीनामा हुने परिवर्तनले यसमा केही थपघट हुन सक्छ र त्यसपछि सही तथ्यांक प्राप्त हुन सक्छ ।

जेहोस्, नेपालको प्रतिव्यक्ति आय बढेकै देखिएको छ । राष्ट्रिय कुल आयलाई जनसङ्ख्याले भाग गरी प्रतिव्यक्ति आय निर्धारण गरिन्छ । त्यसैले यसरी राष्ट्रिय आय बढ्नु सकारात्मक हो ।

तर, प्रतिव्यक्ति आयको वृद्धि कुनै नीतिगत प्रयासबाट चाहिँ भएको होइन । यसको प्रमुख श्रेय मौसमलाई जान्छ किनभने मौसममा आधारित कृषि उत्पादन बढेर यस्तो आय बढेको हो । त्यस्तै आय बढ्दैमा केही पनि हुन्न भन्ने पनि सोच्नु हुन्न । राष्ट्रिय आय बढाउने क्षेत्र कुनकुन हुन् र ती क्षेत्रमा हामीले केकति लगानी गर्‍यौं भन्ने पनि हेर्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय आय बढ्नुमा कृषिक्षेत्रको ठूलो योगदान छ । कृषिक्षेत्रको उत्पादन बढेपछि गैरकृषि क्षेत्रको उत्पादन पनि बढ्छ । बाढीपहिरोका कारण कृषि उत्पादन घट्छ कि भन्ने आशङ्का गरिए पनि त्यसले खासै असर पारेन । कृषकलाई बीउ बिजन, मल, सिँचाइ आदिमा ठूलो लगानी गरेर सुविधा दिएकाले कृषि उत्पादन बढेको होइन । मौसमले साथ दिएकाले यसो भएको हो । त्यसैले यो आर्थिक वृद्धिलाई टिकाइराख्न व्यापक लगानी बढाई कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नैपर्छ । त्यो भनेको कृषिलाई उद्योगसँग जोड्ने हो, बजारसँग जोड्नु हो । प्रतिव्यक्ति आय बढेकोमा खुशी हुनुभन्दा पनि यसलाई दिगो बनाउनु आवश्यक छ । यही तथ्याङ्कलाई हेर्दा पनि ३ महीनापछि हाम्रो जनसङ्ख्या बढ्दा अहिलेको प्रतिव्यक्ति आय कम हुन सक्छ । यसलाई जोगाइराख्नु चुनौतीपूर्ण छ भन्नेमा ध्यान जानु आवश्यक देखिन्छ ।

विभागले जारी गर्ने तथ्याङ्कमा अर्थतन्त्रका सबै पक्षलाई समेटिएको छैन । ती सबै क्षेत्रलार्ई पनि समेट्ने हो भने प्रतिव्यक्ति आय बढ्न सक्छ । यसमा अनौपचारिक अर्थतन्त्रलाई समेटिएको छैन । तथ्याङ्क विभागले जारी गर्ने हरेक वर्षको तथ्याङ्कले देखाउने हाम्रो अर्थतन्त्रको सन्देश उस्तै हुन्छ । सरकारले ती तथ्याङ्कले सङ्केत गरेका पक्षमा सुधार ल्याउन वा तिनलाई दिगो बनाउन भने ठोस प्रयास गरेको पाइन्न ।

तथ्याङ्क विभागले अर्थतन्त्रका विविध पक्षको तथ्याङ्क सार्वजनिक गरे पनि राष्ट्रिय आयको वितरणका पक्षमा त्यति धेरै तथ्याङ्क सार्वजनिक गरेको पाइन्न । त्यसैले राष्ट्रिय आय बढे पनि त्यसको न्यायोचित वितरण छ कि छैन भन्नेमा पनि ध्यान जानु जरुरी छ । तथ्याङ्क विभागले गर्ने जीवनस्तर सर्वेक्षणबाट केही तथ्य प्राप्त गर्न सकिन्छ । अघिल्ला सर्वेसँग तुलना गर्दा २०११–१२ मा कुल आयमध्ये कम आय हुने समूहको अंश घटेको छ । उपल्लो १० प्रतिशत घरपरिवारले ४० प्रतिशत अंश पाएकाको सबभन्दा तल्लो १० प्रतिशत घरपरिवारले १ दशमलव ५ प्रतिशत अंश पाएका छन् । यसले राष्ट्रिय असमानता बढ्दै गएको देखिन्छ । यसरी असमानता बढ्नु अर्थतन्त्रका लागि मात्र होइन, समाज र राजनीतिका लागि पनि चुनौती हो किनभने यसले समाजमा असन्तोष जन्माउँछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!