आइपिएल: पञ्जाबलाई हराउँदै हैदराबाद उक्लियो दोश्रो स्थानमा

काठमाडौं, वैशाख १४ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ ।

१ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको पञ्जाबलाई १९.२ ओभरमा अलआउट गर्दै १ सय १९ रनमा समेटेपछि हैदराबाद विजयी भएको हो । हैदाराबादका रसिद खानले ३ , सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २ विकेट लिएपछि पञ्जाब खुम्चिन बाध्य भयो ।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए । करुन नायरले १३ र मयंक अग्रवालले १२ रन बनाए पनि अरुले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । मनीषले ५१ ब्लमा ३ चौका र १ छक्का प्रहार गर्दै ५४ रन जोडे । सकिब अल हसनले ३९ बलमा ३ चौकाको मद्दतमा २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाए । पञ्जाबका लागि अंकित राजपुलले ५ र मुजिब उर रहमानले १ विकेट लिए ।

७ मध्ये ५ खेल जितेको हैदराबाद १० अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा समान अंक सहित चेन्नई शीर्षस्थानमा छ । ७ खेल खेलेको पञ्जाबको पनि समान १० अंक छ र उ तेश्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!