महिलामैत्री शौचालय निर्माण अभियान शुरु गर्नुपर्छ : मन्त्री बिना मगर

सिन्धुली, वैशाख १३ । खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।

सिन्धुलीलाई देशकै ४९ औ खुलादिसामुक्त जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलामैत्री शौचालय नहुँदा समस्या हुने गरेको बताउनुभयो ।

‘सार्वजनिक शौचालय महिलामैत्री छैनन्, जसले गर्दा महिनावारी भएका महिलालाई समस्या हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘खुलादिसामुक्त घोषणापछि अब महिलामैत्री शौचालय निर्माण अभियान सुरु गर्नुपर्छ ।’

खुलादिसामुक्त घोषणा कागजमा नभई व्यवहारमा गर्नु महत्वपूर्ण रहेको मन्त्री मगरले बताउनुभयो ।

‘सरसफाई हाम्रो चेतना र बानीसङ्ग जोडिएको छ, तसर्थ हामीले संस्कार र बानी सुधार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले खुलादिसामुक्त जिल्ला त घोषणा गर्यौ, अब सरसफाईलाई ध्यान दिने जिम्मा सिन्धुलीवासीको हो ।’

सरसफाई मानिसको स्वास्थ्य, ज्यान र आयु जोडिएको उहाँले बताउनुभयो । वर्तमान सरकार ५ वर्षसम्म चल्ने स्थिर प्रकृतिको भएकाले जनताका सपना पूरा हुने मन्त्री मगरले बताउनुभयो ।

‘खानेपानीका समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘जनताको घरदैलोमा खानेपानी सुविधा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

खानेपानी सुविधा समृद्धिको मुख्य आधार भएकाले सरकारले खानेपानीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!