कोरियाली नेता किमलाई ‘गार्ड अफ अनर’

काठमाडौं । ६५ वर्षपछि उत्तर कोरियाबाट हुन लागेको उच्चस्तरीय भ्रमणको तयारीमा दक्षिण कोरियाले कुनै कसर बाँकी नराख्ने गरी तयारी गरेको छ । उत्तरका नेता किम जोङ उनलाई दक्षिणमा सैनिकले सलामी अर्पण गर्नेछन् ।

शुक्रबार ‘गार्ड अफ अनर’ दिइने छ । त्यसपछि उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच शुक्रबार भेटवार्ता हुनेछ ।

अन्तर कोरियाली शिखर सम्मेलन अगावै दुई देशबीच ‘मिलिटरी डिमार्केशन लाइनुमा भेट हुने एएफपीले जनाएको छ । कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक दुई नेताबीच भेट हुने भएको हो ।

निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ । ‘किमले सम्मेलनको बिहानीसत्र शुरु हुनु अगावै भवनमा प्रवेश गरेर अतिथि पुस्तिकामा हस्ताक्षर गर्नुहुने छ,’ दक्षिण कोरियाली राष्ट्रपतिका सचिव सचिव इम जोङ सियोकले जानकारी दिए ।

६५ वर्ष अगाडि कोरियन युद्धपछि दक्षिणमा पाइला टेक्ने उनी पहिलो उत्तरका नेता हुनेछन् । तनावपूर्ण अवस्थामा रहेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ ।

शुक्रबार साँझ किमको बिदाइमा मुनले भोजको आयोजना गर्नेछन् । प्योङ्याङबाट आउने प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी हुने छिन् ।

उनी किमकी नजिककी सल्लाहकार हुन्। गत फेब्रुअरीमा उनले दक्षिणको भ्रमण गरेकी थिइन् । यो सम्मेलनलाई उत्तर–दक्षिणको मात्र सम्मेलको रूपमा मात्र हेरेका छैनौँ यो सम्मेलन अमेरिका र उत्तर कोरियाबीचको सम्मेलनको रूपमा पनि हेरिएको छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!