आइपिएल क्रिकेट : धोनीको टिमसँग हार्‍यो विराटको टिम

काठमाडौं, बैशाख १३ । क्विन्टन डी कक र एबी डी भिल्लियर्सले प्रभावशाली प्रदर्शन गरे पनि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले जित निकाल्न सकेन ।

बैंग्लोरले प्रस्तुत गरेको २०६ रनको लक्ष्य चेन्नई सुपर किङ्गले दुई बलमा बाँकी हुँदा मात्रै पाँच विकेटको क्षतिमा भेट्टायो ।

विशाल लक्ष्य भेट्टाउने क्रममा चेन्नईका लागि अम्बाती रायडुले ५३ बलमा ८२, तथा कप्तान महेन्द्र सिंह धोनीले ३४ बलमा नटआउट ७० रनको योगदान दिए । धोनीको प्रदर्शन चेन्नईको जितका लागि महत्वपूर्ण बन्यो ।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा २०५ रन बनायो । उसका लागि ककले ३७ बलमा ५३ तथा भिल्लियर्सले ३० बलमा ६८ रन बनाए ।

यस्तै मन्दीप सिंहले १७ बलमा ३२ रन बनाए भने कप्तान विराट कोहलीले १५ बलमा १८ रन बनाए ।

जितपछि धोनीको टिम चेन्नई शीर्ष स्थानमा पुगेको छ । ६ खेलमा पाँचौँ जित दर्ता गरेको चेन्नईको १० अंक रहेको छ । यस्तै ६ खेलमा चौथो हार बेहोरेको बैंग्लोर चार अंकसहित छैटौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!