पेस्तोल र लागुऔषधसहित विराटनगरबाट सात भारतीय समातिए

विराटनगर, वैशाख १३ । पेस्तोल र ठूलो परिणामको प्रतिबन्धित लागुऔषधसहित सात भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय महिलासहित सातजना छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर–४ स्थित नोबेल कलेजअगाडिबाट भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलबाट ठूलो परिमाणको एभिल, डाइजेलाभ, स्पास्मो प्रोक्सिभन, नाइट्रोसन, लुपीजेसिक, फेनारागन, डाइलेक्स डिसी र एकथान अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, एकथान म्यागजिन र ६ थान गोलीसहित सातजनालाई पक्राउ गरिएको जानकारी दिइयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक रोहितकुमार शर्मा, विनोद यादव, राजाकुमार यादव, निलमदेवी यादव, प्रकाशकुमार दास, रन्जीतकुमार शर्मा र सुरजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

उनीहरूबाट भारतीय नम्बर प्लेटका तीनथान मोटरसाइकल, ६ थान मोबाइल र नेपाली रु ८१ हजार बरामद गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!